बसिरको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित, चारदेशीय सिरिज कुवेतलाई

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण

नेपाललाई  तीन रनले हराउँदै कुवेतले चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ। मिसन रोड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै  १७५ रनको लक्ष्य दिएको थियो। 

प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७१ रन बनाउन सक्यो। सुरुबाटै धर्मराएको नेपालको ब्याटिङ बसिर अहमद एक्लैले सम्हालेका थिए। बसिर एक्लैले सर्वाधिक ८० रन बनाएर नेपाललाई लज्जास्पद हारबाट जोगाए। ४३ बल सामना गरेका बसिरले आठ चौका र चार छक्काको मद्दतमा ८० रन जोडेका हुन्। नन्दन यादव ३७ रन बनाएर पेभिलियन फर्किए।

त्यसअघि ओपनर कुशल भुर्तेल तीन रन जोडेर आउट हुँदा आशिफ शेखले २१ रन जोडेका थिए। १६ बल सामना गरेका क्याप्टेन रोहित पौडेलले सात रन बनाउँदा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी खाता नखोली फर्किए। चार रन जोडेका सोमपाल कामी रनआउट भए। गुल्सन झा नाै र करण केसीले चार रन बनाउँदा ललित राजवंशी शून्य रनमा नटआउट रहे।

यसअघि  कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरेका थिए। क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए। तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए।

प्रतियोगितामा अपराजित  रहँदै नेपाल पाँच अंकसहित फाइनलमा पुगेको थियो।  नेपालले दुई खेल जित्दा आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भयो। फाइनलमा भने नेपाल पराजित भयो।

समूहमा नेपालसँग पराजित कुवेतले अन्य दुई टोलीलाई‌ पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनलमा भने कुवेतले बदला पनि लिएको छ।

सुझावित समाचार