अघिल्ला वर्षहरूझैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो।
मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठुलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने। वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यस प्रकार छन् :
राजनीतिक घटनाक्रम
- वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी।
- वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी।
- वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त।
- जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति।
- जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत।
- जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश।
- जेठ २३ गते– मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल।
- जेठ २५ गते– मधेश प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त।
- असार १९ गते– सत्तागठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता।
- असार २० गते– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन। असार २२ गते– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त।
- असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त।
- असार ३० गते– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त।
- साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त।
- साउन ८ गते– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त।
- साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त।
- भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस।
- पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन।
- चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन।
- चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुईजनाको मृत्यु, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा कर्फ्यु आदेश।
- चैत २० गते– नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलन सुरु।
कूटनीति
- वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण।
- जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
- जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
- असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
- भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
- असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान ।
- कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरबैजान प्रस्थान।
- मंसिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
- चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।
अपराध
- वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चारजनालाई जन्मकैद ।
- वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)द्वारा काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी ।
- जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।
- कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
- कात्तिक २० गते– गण्डकी प्रदेश सभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
- चैत ५ गते– काठमाडौँको टोखाबाट करिब रु. २५ करोडबराबरको विदेशी मुद्रा बरामद ।
- चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट पक्राउ ।
पूर्वाधार निर्माण
- वैशाख ३ गते– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाअन्तर्गत सुरुङमार्ग छिचोलियो ।
- माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमार्गको सुरुङ सात महिनामै छिचोलियो ।
आर्थिक गतिविधि
- वैशाख १५ गते– काठमाडौंमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
- जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष ०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रु. १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
- माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
- चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।
खेलकुद र पर्वतारोहण
- जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँपटक सगरमाथा शिखरमा ।
- जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।
- पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।
विविध
- असार ९ गते– अख्तियार दुरुपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
- साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
- भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
- कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।
- मंसिर २ गते– पूर्वसभामुख दमनाथ ढुंगानाको निधन ।
- मंसिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान ।
- मंसिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चारजना दोषी ठहर ।
- फागुन ३ गते– संयुक्त राष्ट्र संघको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।
- फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढंगबाट मृत्यु ।
- फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।
- चैत १ गते– उपभोक्ता अदालत गठन ।
- चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त ।
- चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।
- चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
- चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।
- चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।
घटना–दुर्घटना
- असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सातजनाको मृत्यु ।
- असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा बेपत्ता ।
- साउन ९ गते– काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
- साउन २३ गते– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँचजनाको मृत्यु।
- भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।
- भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।
- भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा ६ जनाको मृत्यु ।
- असोज ११-१२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।
- असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौं आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।
- असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु ।
- असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
- मंसिर १४ गते– रामेछापको गोकुलगंगा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।
- माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।