अमेरिकाको १०४ प्रतिशत भन्सारको जवाफमा चीनले लगायो ८४ प्रतिशत

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

चीनले सबै अमेरिकी सामानको आयातमा ८४ प्रतिशत नयाँ भन्सार कर लगाउने घोषणा गरेको छ । यस घोषणाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्ध थप बढ्नुका साथै विश्वव्यापी सेयर बजार थप प्रभावित बनेको छ । 

चिनियाँ अर्थ मन्त्रालयले बिहीबारदेखि चीन भित्रिने अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार कर लाग्ने घोषणा गर्यो । यसअघि उसले यो दर ३४ प्रतिशत तोकेको थियो । ट्रम्पले चिनियाँ आयातमाथिको कर १०४ प्रतिशत पुर्याउने निर्णय गरेको केही घण्टापछि चीनले पनि भन्सार बढाउने निर्णय गरेको हो । चीनको जवाफी कदमले बुधबार सेयर बजारमा थप गिरावट ल्यायो । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र स्पेनका प्रमुख सेयर बजारका सूचकांक खस्किएका छन् । 

८४ प्रतिशत भन्सार घोषणा गर्नुअघि चीन सरकारले आफूले व्यापार युद्ध लड्न नचाहेको बताएको थियो । तथापि, बेइजिङले ‘चिनियाँ जनताको वैध अधिकार र हितलाई क्षति पुर्याएको चुपचाप हेरेर नबस्ने’ चेतावनी दिएको थियो । अमेरिका सबै देशका आयातमाथि लगाएको न्यूनतम १० प्रतिशत भन्सार दर अप्रिल ५ मै लागू भइसकेको छ । त्यस वेलादेखि नै विश्वभर मन्दीको डर उत्पन्न भएको छ । यही डरका कारण तेलको मूल्यमा समेत गिरावट देखिएको छ । बुधबार लगातार पाँचौँ दिन तेलको मूल्य घट्यो । 

उता, ट्रम्प भने आफ्नो नीतिले विदेश गएका अमेरिकी कम्पनी अमेरिकामा फर्किन बाध्य हुने र देशको कमजोर उत्पादन पुनर्जीवित हुने विश्वास गरेर बसेका छन् । तर, अधिकांश व्यापार विज्ञ र अर्थशास्त्रीले भने भन्सार वृद्धिले आमउपभोग्य वस्तुको मूल्य बढ्ने र उच्च मुद्रास्फीति आउने चेतावनी दिएका छन् ।

सुझावित समाचार