केही दिनयता मकवानपुरको वनक्षेत्रमा डढेलो लाग्ने क्रम दिनानुदिन बढ्दै गएको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार अहिले जिल्लाको १४७ स्थानमा डढेलो लागिरहेको छ । कार्यालयका अनुसार दुई हजार ४९५ हेक्टर वनक्षेत्रमा अहिले पनि डढेलो लागिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरको राक्सिराङमा मात्रै वनबाट फैलिएको आगोका कारण तीनवटा आगलागीका घटना भएका छन् ।
राक्सिराङ गाउँपालिका–७ मा जंगलमा लागेको आगो घरमा सल्किँदा स्थानीय सुब्बा प्रजा र चन्द्र प्रजाको घर र गोठ जलेर नष्ट भएको छ । जंगलबाट लागेको आगो हावाहुरीको कारणले जंगलनजिकै रहेको सुब्बा र चन्द्रको खरले छाएको काठको कच्ची घर र घरसँगै रहेको गोठ जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार जंगलमा लागेको आगो सल्किँदा राक्सिराङ–४ का रामबहादुर थिङको खरले छाएको काठको कच्ची घर जलेर नष्ट भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी भालुडाँडास्थित राष्ट्रिय वनमा डढेलो लाग्दा स्थानीय मिठु सिलवालको कच्ची घर र वेदबहादुर सिलवालको गोठ जलेर नष्ट भएको छ ।
२५ सय हेक्टर वनमा आगलागी
डिभिजनल वन कार्यालय मकवानपुरका अधिकृत राकेशप्रसाद चन्द्रवंशीका अनुसार अहिलेको अवस्थामा मकवानपुरको १० स्थानीय तहको १४७ स्थानमा डढेलो लागेको छ । उनका अनुसार जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ४३ स्थानमा डढेलो लागेको छ । उपमहानगर क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वनहरूमा गरी ६१४ हेक्टर वनमा डढेलो लागेको छ ।
केही दिनयता बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडाआसपासका क्षेत्रहरू बाक्लो तुवाँलोले ढाकेको छ । यस्तै, जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ९ स्थानमा डढेलो लाग्दा १०४ हेक्टर क्षेत्रफलको वन विनाश भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा १६ स्थानको चार सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन अधिकृत चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार कैलाश गाउँपालिकाको १० स्थान वन डढेलो लाग्दा २९५ हेक्टर, राक्सिराङ गाउँपालिकाको ३ स्थानमा डढेलो लाग्दा १५० हेक्टर, भीमफेदी गाउँपालिकाको १२ स्थानमा डढेलो लाग्दा ३४८ हेक्टर क्षेत्रफलको वनविनाश भएको छ ।
यसैगरी, जिल्लाको मनहरी गाउँपालिकाको पाँच स्थानमा डढेलो लाग्दा १७७ हेक्टर, मकवानपुरगढी गाउँपालिकाको ८ स्थान स्थानमा डढेलो लाग्दा २२६ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको तथ्यांक छ ।यस्तै, बकैया गाउँपालिकामा २१ स्थानमा ६० हेक्टर वनमा डढेलो लागेको छ भने बागमती गाउँपालिकामा २४ स्थानमा डढेलो लाग्दा १२१ हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
४२ जिल्लामा डढेलो
केही दिनदेखि देशभर डढेलोको प्रकोप बढ्दै गएको छ । शनिबार मात्र ४२ जिल्ला डढेलोबाट प्रभावित भएको तथ्यांक छ । नासाको स्याटलाइट विवरणअनुसार सबैभन्दा धेरै चितवन र मकवानपुर जिल्ला प्रभावित भएका छन् । चितवनमा ३६, कपिलवस्तु १९, दाङ १६, पर्सा १६, धनकुटा १५, कञ्चनपुर १४, सिन्धुली १३, बर्दिया १२, तेह्रथुम ११ तथा पूर्वी नवलपरासीमा १० स्थानका जंगलमा आगलागी भएको छ ।
यती धेरै स्थानमा डढेलो लाग्नु विकराल अवस्था भएको डढेलो विज्ञ सुन्दर शर्मा बताउँछन् । ‘शनिबार एकै दिन दुई स्थानमा डढेला देखिन्छ, यो विकराल अवस्था हो,’ पूर्वउपसचिव समेत रेहका उनी भन्छन्,‘डढेलोको पिक समय आउनै बाँकी छ, मध्य बैशाखसम्म उच्च जोखिम छ, तर नियन्त्रणमा सरकारको खासै तयारी देखिन्न ।’ डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशैभरी वायु प्रदुषण उच्च तहमा पुगेको छ । अहिलेको वायु प्रदुषणको ८० प्रतिशत कारण नै डढेलो भएको शर्मा बताउँछन् ।
प्रदेश वन मन्त्रालयसँग छैन डढेलोको तथ्यांक
बागमती प्रदेशको मकवानपुर जस्तै १३ वटै जिल्लामा यतिवेला वन डढेले तीव्र गतिमा बढेको छ । चितवन, धादिङ, सिन्धुली, मकवानपुर, ललितपुर, काभ्रे, दोलखालगायत सबै जिल्लाका बनमा डढेलो लागेको छ । तर, बागमती प्रदेशको वन मन्त्रालयसँग यसको कुनै तथ्यांक भने छैन । वन निर्देशनालयका सूचना अधिकारी टंकनारायण श्रेष्ठका अनुसार व्यवस्थित सूचना प्रणालीको विकास नहुँदा वन डढेलो तथा अन्य विभिन्न घटनाका तथ्यांक संकलनमा कठिनाइ भएको छ ।
डढेलो निभाउन गएका पाख्रिनको मृत्यु
वनमा लागेको डँढेलोबाट गोठ बचाउन गएका एकजनाको भिरबाट लडेर डढेलोमा परी मृत्यु भएको छ । भीमफेदी–१ नयाँगाउँका ४९ वर्षीय अकिलबहादुर पाख्रिनको मृत्यु भएको हो । बुधबार राति ११ बजे श्रीमती बिपीमाया पाख्रिन र दाइ नाता पर्ने रत्नकुमार पाख्रिनसहित घरदेखि एकसय मिटर टाढा रहेको बोकेदह सामुदायिक वनमा लागेको आगो निभाउन गएका पाख्रिन भिरबाट लडेका थिए ।