ऊर्जा क्षेत्रमा रसियाली लगानी भित्र्याउन ऊर्जामन्त्रीको आग्रह

बिहिबार, २१ चैत, २०८१
डिजिटल संस्करण

नेपालको प्रसारणलाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रिड, हरित ऊर्जालगायतका क्षेत्रमा रसियाली लगानी भित्र्याउने वातावरण मिलाउन ऊर्जामन्त्री दीपक खड्काले नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकलाई आग्रह गरेका छन् । बुधबार ऊर्जामन्त्री खड्काले रसियाले नेपालको जनशक्ति विकासमा पुर्याएको योगदान र सहयोगप्रति धन्यवाद दिँदै यस्तो आग्रह गरेका हुन् । 

मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना शोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गरे । उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न रसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताए । 

भेटमा नेपालका लागि रसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरू इच्छुक रहेको बताए । राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिनामा हुने रसियन इनर्जी विकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गरे ।

सुझावित समाचार