नास्टका प्राज्ञ प्रा.डा. प्रमोदकुमार झालाई ३ प्रश्न

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

नेपालमा बाह्य मिचाहा प्रजातिका फैलावटलाई रोक्नका लागि हालका रणनीतिबारेमा जानकारी गराइदिनुस् है?
बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना चैत्र १७ गते स्वीकृत भएको हो । यसअघि ‘नेसनल बायोडाइभर्सिटी स्ट्रेटेजिक एन्ड एक्सन प्लान’मा यसको संक्षिप्त उल्लेख मात्र थियो । विस्तृत योजना आवश्यक ठानी २०७४ देखि रणनीति निर्माण थालिएको हो । पटक–पटक संशोधनपछि हाल विस्तृत रूपमा पारित भएको छ ।

बाह्य मिचाहा प्रजातिको फैलावटले पारिस्थितिकीय प्रणालीमा कस्तो असर गरिरहेको छ ? 
पारिस्थितिक प्रणालीमा मिचाहा प्रजातिको फैलावटले गम्भीर असर गर्छ । यी असरलाई विशेषतः चार बुँदामा व्यक्त गर्न सकिन्छ । पहिलो त एल्लोप्याथी अर्थात् मिचाहा प्रजातिबाट निस्कने रसायनले माटोमा असर पार्छ, स्थानीय वनस्पतिका लागि आवश्यक सूक्ष्म जीवाणुमा असर पर्छ, उब्जाउ क्षमतामा ह्रास ल्याउँछ र समग्रमा जैविक विविधतामा असर गर्छ । दोस्रो यी प्रजातिले पशु उत्पादकत्वमा असर पार्छ । तेस्रो यसले मानिस एवं पशुको स्वास्थ्यलाई पनि असर गर्छ । मिचाहा प्रजाति स्वास्थ्यमा पनि समस्या ल्याइरहेको हुन्छ । छाला, श्वासप्रश्वासको समस्या र चौपाया मिचाहा वनस्पति खाँदा दुध तितो हुने पनि गर्छ । चौथो, यसले हाम्रो जैविक एवं वन्यजन्तु संरक्षणमा पनि गम्भीर असर गर्छ । वास्तवमा मिचाहा प्रजातिले पारिस्थितिक प्रणालीमा मात्रै नभई कृषि क्षेत्रमा पनि ठुलो क्षति पुर्याउँछ ।          

नेपालमा बाह्य मिचाहा प्रजातिको प्रभावलाई कसरी कम गर्न सकिन्छ र यसमा विज्ञको भूमिका कस्तो हुन सक्छ ?
मिचाहा प्रजातिका वनस्पतिले निम्त्याउने क्षति विशाल छ । मिचाहा प्रजाति पूर्ण रूपमा उन्मूलन गर्न कठिन भए पनि रोकथाम सम्भव छ । कृषि, वनस्पति, वातावरण, प्राणीशास्त्र र अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूको समन्वय आवश्यक छ । जैविक विधिबाट नियन्त्रण सम्भव भए पनि थप अनुसन्धान आवश्यक छ । स्थानीयस्तरमा कृषक र अधिकारीहरू सक्रिय भई सुरुवाती अवस्थामा नै नियन्त्रण गर्नुपर्छ ।

सुझावित समाचार