नेपाल सुपर लिग : उद्घाटन खेल नै रोमाञ्चक बराबरी

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको उद्घाटन खेलमा दुई पूर्वच्याम्पियन ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले रोमाञ्चक दुई–दुईको बराबरी खेलेका छन् । शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुरले पहिलो हाफमै गरेको दुई गोलको अग्रता जोगाउन सकेन । काठमाडौले अन्तिम २० मिनेटमा दुई गोल ग¥यो । उद्घाटन खेलका तीनै गोल विदेशी खेलाडीको नाममा रह्यो । 

ललितपुरका लागि जोनाथन इडुआर्डाे जोरिला र आदित्य शाक्यले एक गोल गरे । यता, काठमाडौंका लागि विदेशी खेलाडी अमाडोउ डिओप र भिन्सेन्ट कोजिएलोले समान एक गोल गरेका थिए । यसअघि भएका चार भेटमा काठमाडौले तीन खेल जित्दा ललितपुरले एक मात्र खेल आफ्नो पक्षमा पारेको थियो । पहिलोपटक दुई टोलीबिचको खेल बराबरीमा सम्पन्न भएको हो । 

पहिलो संस्करण सन् २०१९ मा आयोजना हुँदा काठमाडौं विजेता भएको थियो । दोस्रो संस्करण सन् २०२३ मा आयोजना हुँदा ललितपुर च्याम्पियन भएको हो । दुवै संस्करण धनगढी उपविजेता भएको थियो । यसपटक वीरगन्ज युनाइटेड र स्पोर्टिङ डी इलाम मेचीले नाम फिर्ता लिँदा पोखरा थन्डर्स, झापा एफसी, बुटवल लुम्बिनी र एफसी चितवन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो खेलमै विदेशी हाबी
पहिलो खेलमा दुवै टोलीले नियमअनुसार नै पाँच विदेशी खेलाडीलाई प्लेइङ सेटमा मैदान उतारेका थिए । खेलमा विदेशी खेलाडी नै हाबी भएका छन् । कुलदीप कार्कीको कप्तानीमा रहेको काठमाडौंले भने विदेशी गोलकिपर चेइख गुयलाई भन्दा नेपालका अभिषेक बराललाई नै विश्वास गर्यो । काठमाडौंले मार्की रोहन कार्की र स्ट्राइकर जिलेस्पीजंग कार्कीलाई दुई गोल व्यहोरेपछि मैदान पठाएको थियो । अनन्त तामाङको कप्तानीमा रहेको ललितपुरले गोलकिपरलाई जेफेरी विली मार्सेललाई नै विश्वास गर्यो । गत सिजन टिम च्याम्पियन हुँदा न उनी नै उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

 पहिलो हाफमै ललितपुरको दुई गोल
एनएसएल तेस्रो सिजनको पहिलो गोल नै विदेशी खेलाडीको नाममा रह्यो । खेलको पाँचौँ मिनेटमै जोनाथन कान्टिलानले गोल गरे । दायाँ कर्नरबाट गरेको प्रहारमा काठमाडौंका गोलकिपर अभिषेक बिट हुन्छन् । सोही बल काठमाडौंका डिफेन्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको हो । १५औँ मिनेटमा ललितपुरले दोस्रो गोल ग¥यो । यसपटक पनि काठमाडौंको रक्षापंक्ति निकै कमजोर देखियो । आदित्य शाक्यले सिक्स यार्ड बक्सभित्रबाट त्यसकै फाइदा लिए । सनिश श्रेष्ठ र पापा इबोउ केबेले स्ट्राइकर इमोहलाई पास उपलब्ध गराउँछन् । १८ यार्ड बक्सभित्रबाट इमोह इजेकिइलले गरेको शक्तिशाली प्रहार गोलकिपर अभिषेकले राके पनि अन्य डिफेन्डरले क्लियर गर्न सक्दैनन् । सोही अवसरमा आदित्यले दोस्रो गोल गरेका हुन् । काठमाडौंले ७५औँ मिनेटमा एक गोल फर्कायो । विदेशी खेलाडी अमाडोउ डिओपले पेनाल्टी एरियाबाट सहज गोल गरे । 

वैकल्पिक खेलाडी जिलेस्पीले बायाँ भागबाट बढाउँदै बक्सभित्रबाट उपलब्ध गराएको बललाई अमाडोउले सुन्दर गोल गरेका हुन् । फ्रान्सका भिन्सेन्ट कोजिएलाले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई २–२ को बराबरीमा ल्याएक हुन् । उनैलाई इन्जुरी समयमा ललितपुरका योगेश गुरुङले लडाएपछि काठमाडौंलाई फिफा रेफ्री उमेश विडारीले पेनाल्टी अवसर दिएका थिए । सात मिनेट थपिएको इन्जुरी समयको पाँचौँ मिनेटमा भिन्सेन्टले गोल गरेका हुन् । 

सुझावित समाचार