मनहरीमा बसको ठक्करबाट युवाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरीमा रात्रिबसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको मनहरी गाउँपालिका– ६ लोथरस्थित प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।

गएराति करिब ३ बजेको समयमा यात्रुबसले म्याजिकलाई ठक्कर दिँदा म्याजिकचालक राक्सिराङ गाउँपालिका– ४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नम्बरको  म्याजिक गाडी एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरीरमा चोट लागी गम्भीर घाइते भई उपचारका लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको शव सोही अस्पतालमा रहेको र बसचालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयले चालकलाई कारबाही गर्नुपर्ने माग गर्दै राजमार्ग बन्द गरेका हुन्।

सुझावित समाचार