आठौँ प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल पुलिस र त्रिभुवन आर्मीबिच हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भैरहवा, दाङ र रुपन्देहीमा एकै साथ आयोजना गरेको प्रतियोगिताको शीर्ष स्थानमा साबिक विजेता पुलिस र दोस्रो स्थान रक्षा गर्दै आर्मीले फाइनल स्थान पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।
यसैबिच, लिग चरणका ४५ खेलपछि जय ट्रफीमा चार टोली छनोट भएका छन् । जय ट्रफीमा प्रधानमन्त्री कपका शीर्ष चार टोलीले स्थान बनाए । लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसको अपराजित यात्रा समाप्त गरेको थियो । १४ अंकका साथ तेस्रो स्थानमा रहेको एपिएफ पहिलोपटक जय ट्रफीमा छनोट भएको छ । गत सिजन पाँचौँ स्थानमा रहँदा एपिएफले जय ट्रफी गुमाएको थियो ।
यसपटक चौथो स्थानका लागि रोमाञ्चक प्रतिस्पर्धा भयो । बागमती, कर्णाली, लुम्बिनी र मधेशले नौ खेलबाट समान ८ अंक बनाए । चौथो स्थानमा रनरेटमा बागमतीले कर्णाली, लुम्बिनी र मधेशलाई निराश बनायो । गत सिजनमा मधेशले जय ट्रफी खेलेको थियो । यसपटकको जय ट्रफीमा मधेशका अनिलकुमार साह, मायन यादव, पवन सर्राफ र हरिशंकर साहजस्ता चर्चित खेलाडी देखिनेछैनन् । लुम्बिनीका कप्तान देव खनालले पनि जय ट्रफी गुमाएका छन् ।
नेपाल पुलिस (१६ अंक)
उपाधि दाबेदार पुलिसले दुई खेलअघि नै प्रधानमन्त्री कप र जय ट्रफीमा स्थान बनाएको हो । पुलिस लगातार आठ खेलमा अपराजित रह्यो । नवौँ खेलमा मात्र आर्मीसँग पराजित भयो । पुलिसको बलियो पक्ष नै राष्ट्रिय टोलीका अनुभवी आठ खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आरिफ शेख र करण केसीजस्ता नियमित सिनियर खेलाडीको साथ पाउँदा पुलिसको प्रदर्शन सानदार रह्यो । अर्जुन साउद र सागर ढकालले पनि प्राप्त अवसरमा योगदान दिए । पुलिसले लुम्बिनीलाई ८७ रन, कोशीलाई १५४ रन, एपिएफलाई दुई विकेट, मधेशलाई १९३ रन, सुदूरपश्चिमलाई ६१ रन, गण्डकीलाई सात विकेट, बागमतीलाई ९३ र कर्णालीलाई ४४ रनले हराएको थियो ।
त्रिभुवन आर्मी (१६ अंक)
प्रधानमन्त्री कपको अन्तिम दुईमा स्थान रक्षा गर्न आर्मीले पुलिसलाई हराउनुपर्ने थियो । पराजित हुँदा एपिएफसँगै समान १४ अंक हुने थियो । रनरेटअनुसार आर्मी र एपिएफबिच फाइनलमा पुग्ने समीकरण थियो । तर, पुलिसलाई हराउँदै आर्मीले जय ट्रफीमा स्थान पक्का ग¥यो । आर्मीमा अनुभवी कप्तान र विकेटकिपर विनोद भण्डारीसँगै, कुशल मल्ल, सोमपाल कामी, भीम सार्की, विवेक यादव, साहब आलमजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । आर्मी लिग चरणमा मधेशसँग तीन विकेट पराजित भयो । आर्मीले बागमतीलाई १३४ रन, सुदूरपश्चिमलाई आठ विकेट, कर्णालीलाई १२७ रन, कोशीलाई सात विकेट, एपिएफलाई तीन विकेट, गण्डकीलाई ६ विकेट र लुम्बिनीलाई १३१ रनले हराएको हो ।
एपिएफ क्लब (१४ अंक)
गत संस्करणमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको एपिएफले कमजोर प्रदर्शन ग¥यो । पाँचौँ स्थानमा रहँदा एपिएफले जय ट्रफी खेल्ने अवसर गुमायो । यसपटक एपिएफमा आसिफ शेख, अभिनाश बोहरा, सन्दीप जोरा, लोकेश बम, मौसम ढकाल र घरेलु प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका अमरसिंह रौटेला, अभिषेक गौतम, दीपक बोहरालगायत खेलाडी थिए । एपिएफले नौ मध्ये सात खेलमा जित निकाली १४ अंक जोड्यो । एपिएफ पुलिससँग दुई विकेट तथा आर्मीसँग तीन विकेटले पराजित भयो । एपिफले बागमतीलाई सय रन, मधेशलाई दुई विकेट, कर्णालीलाई पाँच विकेट, सुदूरपश्चिमलाई तीन विकेट, गण्डकीलाई ३१ रन, लुम्बिनीलाई सात विकेट तथा कोशीलाई दुई विकेटले हरायो ।
बागमती प्रदेश (८ अंक)
लिग चरणको अन्तिम दिन मधेशसँग चार विकेटले खेल गुमाए पनि बागमती चौथो स्थानमा रहँदै जय ट्रफीमा छनोट भयो । मधेशविरुद्ध अन्तिम खेलमा ईशान पाण्डेले शतक बनाए पनि बागमतीको हार टार्न सकेनन् । मधेशका कप्तान अनिलकुमारले अविजित ७० रन र दुई विकेट लिए पनि टोलीलाई जय ट्रफीमा छनोट गराउन सकेनन् । रनरेटमा मधेश बागमतीभन्दा पछि रह्यो । यसपटक बागमतीले राष्ट्रिय टोलीबाट खेलिसकेका सूर्य तामाङ, रिजन ढकालसँगै पृथु बास्कोटा र आशुतोष घिरैयाजस्ता खेलाडीको साथ पायो । ३६३ रनसहित बागमतीका ईशान पाण्डे सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा छन् । रिजन २३ विकेटका साथ धेरै विकेट लिने सूचीको तेस्रो स्थानमा छन् ।