गरिबमाथि औरही सरकारको थप अपराध

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण
  • यतिवेला स्थानीय सरकारका हर्ताकर्तालाई नाम र सहभागिताका लागि जनता तथा कामका लागि बेथिति र भ्रष्टाचार भए पुग्छ 

चाैतर्फी चर्चा र विरोधको केन्द्रमा रहेको सिरहा औरहीको घटनाले यतिवेला मिडिया, संसद् र समाजिक सञ्जाल तताएको छ । सुरुवातमा प्रहरी प्रशासनले मौनता साधे पनि चौतर्फी दबाबका कारण गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पीडित दीपक मरिकले तीनजनामाथि उजुरी दर्ता गराएका छन् । तर, पीडक पक्ष भने गल्ती स्विकार्न तयार छैन । बरु घटना दबाउन र मिलाउन अनेक प्रपञ्च गरिरहेको छ । औरहीको स्थानीय सरकारले एकपछि अर्को गल्ती गर्दै अपराधको पक्षपोषण गरिरहेको छ ।

पीडकहरू पक्राउसँगै विपक्षीका तर्फबाट ज्यान मार्ने धाकधम्की बढेपछि पीडितहरू विस्थापित हुने स्थितिमा छन् । अर्कातिर विभिन्न प्रलोभनमा पारेर मिलाउने प्रयास पनि भइरहेको छ । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले नै बनाइदिएको दुईकोठे घर धार्मिक यज्ञका नाममा स्थानीय सरकार प्रमुख शिवजी यादवले डोजर लगाएर उठिवास लगाएपछि उनीहरूको विचल्ली भएको हो । अहिले सारिएको ठाउँमा पनि डोम परिवारको अवस्था नाजुक छ । आफूलाई कथित उच्च जात भनिएका केही जनप्रतिनिधि तथा बुद्धिजीवीहरू अहिलेको ठाउँ पहिलाको भन्दा महँगो र महत्वपूर्ण रहेको भ्रम छर्दै हिँडेका छन् । जो सर्वथा गलत छ । उनीहरू आफ्नो नश्लीय तथा उच्च जातिवादी धार्मिक अन्धतालाई स्विकार्ने पक्षमा छैनन् । अपराधलाई ढाकछोप गर्ने मनसायबाट ग्रसित छन् ।

जुन स्थानमा महायज्ञ हुँदै छ, त्यो ऐलानी जग्गा हो । त्यो जग्गामा गाउँपालिकाको कृषि शाखाको भवन पनि छ । सरकारी बजेटमै त्यहाँ अन्य दुई भवन पनि बनेका छन् । गाउँपालिकाको भवन पनि छ । जतिवेला यी भवन थिएनन्, त्यतिवेला करिब १० वर्षअगाडि नै दीपकलाई गाउँलेले आफ्नो समाजिक धार्मिक काम टार्न त्यहाँ बसाएका थिए । खोल्सामा रहेकाले वर्षामा घरभित्रै पानी पस्थ्यो । अहिले उनीहरूको घरसम्मै कथित उच्च जातिको बस्ती फैलियो । उनले पाल्ने सुँगुरको गन्ध र फोहोर सबैको नजरमा बिजायो । तर, उनीहरूलाई परिवर्तन र व्यवस्थापन गर्नुको साटो त्यहाँबाट कसरी उठिवास लगाउने भन्नेतिर सबै केन्द्रित भए । जग्गाको महत्व पनि बढ्यो । यतिका वर्ष संरक्षण गरेर बसेको जग्गाको लालपुर्जा दिनुको साटो स्थानीय सरकारले नै यज्ञको नाममा डोजर चलाएर उठिवास लगायो ।

जनता आवास कार्यक्रममार्फत बल्लतल्ल पाएको दुईकोठे पक्की घरमा दुई दाजुभाइको दर्जनभन्दा बढी सदस्य कोचिएर बस्नुपर्दा पनि डोम परिवार खुसी थिए । तर, त्यो खुसी धेरै दिन टिकेन । पक्की घर बनेको पाँच वर्ष नपुग्दै उनीहरूको उठिवास भयो । घटनाले डोम परिवारको निद्रा र भोक खोसेको छ । भूमिहीन सुकुम्बासी तथा ‘अनागरिक’ अल्पसंख्यक डोम परिवारलाई अहिलेसम्म तीन ठाउँमा सारिएको छ । तीस वर्षदेखि बसोवास गर्दै आएको सो स्थानमा अन्य समुदायका घर पनि थिए । तर, उनीहरूको घरमा डोजर चलेन । अहिले त्यो सार्वजनिक जग्गामा स्थानीय सरकारले दुइटा सरकारी भवन पनि निर्माण गरेको छ । गाउँपालिकाको नयाँ भवन पनि छ । गाउँपालिकाको गेटछेउमै डोम परिवारको पक्की घर थियो । त्यहाँ उनले सानोतिनो पसल थापेर रोजगार बन्न सक्थे । तर, अहिले जुन ठाउँमा सारिएको छ, त्यो हुलाकी सडकमा पर्छ । हुलाकी सडक विस्तार भयो भने त्यहाँबाट पनि विस्थापित हुने स्थिति छ । हुलाकी सडकको भित्तामा माटो भरेर बनेको त्यो फुसको टहरा वर्षामा भत्किने र भासिने अवस्थामा छ । खोला किनारमै छ घर । बाढी–पहिरोमा डुबान हुने खतरा उत्तिकै छ । गएरातिको सामान्य हावाहुरी र वर्षाले अहिले नै घरवरिपरि पानी जमिसकेको छ । पालिकामा सरसफाइकर्मीका रूपमा जागिरे दीपक दम्पतीको तलब महिनाको ३६ हजार छ । जसको भरमा उनीहरूले आफ्नो जीविका चलाउँदै आएका छन् । पछिल्लो घटनापछि उनीहरूको रोजीरोटी खोसिने त्रास छ । पटक–पटकको धाकधम्कीका कारण उनीहरू समस्यामा छन् । 

पत्रकार सम्मेलनमा अध्यक्ष यादवकै कुरा बाझिएको छ । आफू गायत्री धार्मिक परिवारको भक्त रहेकाले छुवाछुत नमान्ने दाबी गरेका छन् । तर, डोम परिवारमाथिको योजनाबद्ध आक्रमणले उनी कति अन्ध धार्मिक तथा जातिवादी छन्, त्यो लुकाएर पनि लुक्ने अवस्था छैन । यसअघि पनि चुनाव जित्नुअघि उनले स्थानीय मुसहर समुदायलाई भारतको पन्जाबमा लगेर श्रमशोषण गरेको र कपाली तमसुक बनाएर असुली धन्दा चलाएको आरोप पनि छ । कुरा त्यति मात्र छैन, पछिल्लो समय मिटरब्याज कारोबारमा पनि उनीमाथि मुद्दा छ ।

स्थानीय समिदा खातुन अध्यक्ष शिवजी यादवको धेरै नजिकको मान्छे थिइन् । चुनावमा उनको सारा परिवार खटेका थिए । चुनावका वेला कतारमा रहेका छोरालाई मुस्लिम भोटका लागि बोलाइयो । चुनाव प्रचारका क्रममा समिदाका छोराले चलाएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भयो । त्यस मुद्दामा समिदाका छोराले सिराहाको कारागारमा करिब वर्षदिन बस्नुप¥यो । तर, शिवजीले कुनै पहल र चासो लिएनन् । कतारमा पसल चलाएर बसेको उनका छोराले जेलबाट निस्किन त्यहाँका साथीभाइबाट करिब बीस लाख ऋण लिएर मृतक परिवारलाई क्षतिपूर्ति दिएर छुटे । उनी फेरि कतार हानिए । त्यहाँ साथीभाइको सापटी वेलैमा तिर्न नसक्दा उता पनि जेल परेका छन् ।

खातुनको पारिवारिक सम्बन्धका कारण उनले आफूले किनेको चार कठ्ठा जग्गा दाजुभाइको अंश लाग्ने डरले शिवजीकी श्रीमतीको नाउँमा पास गरिदिइन् । एक वर्षपछि समिदाले छोरीको विवाहका लागि यादवसँग सयकडा तीन रुपैयाँको दरमा पाँच लाख ऋण लिइन् । केही वर्षपछि जग्गा फिर्ता गराउन हिसाबकिताब गर्न पुग्दा यादवले आफ्नो ८० लाख पुगेको सुनेपछि खातुन छानाबाट खसेजस्तै भइन् । यति धेरै पैसा कसरी चुक्ता गर्ने मुस्लिम परिवार तनावमा परे । तनावकै कारण उनका श्रीमान् बिरामी छन् । 

समिदाको हुलाकी सडकछेउमै कुखुराको मासु ‘कटिङ सेन्टर’ छ । जसबाट उनीहरूको दुःखजिलो जीविका चलिरहेको छ । शिवजी यादवले चुनावका वेला जनतालाई कुखुराको मासु बाँड्ने जिम्मेवारी उनैलाई दिएका थिए । चुनावपछि हिसाबकिताब गर्ने भनेर उनले चुनावभरि करिब सात लाखबराबरको ५२ क्विन्टल मासु फोनका भरमा बाँडिन् । तर, उनले अहिलेसम्म त्यो पैसा पनि पाएकी छैनन् । चार कठ्ठा जग्गा पनि गयो । छोरो विदेशको जेलमा छन् । श्रीमान् सुगर रोगले थला परेका छन् । यही चिन्ताले उनी मर्नु न बाँच्नुको अवस्थामा छिन् । समिदाले आफ्नो जग्गा फिर्तीका लागि मिटरब्याजी कानुनमा उजुरी पनि दिएकी छिन् । तर, उनले न्याय पाउन सकेकी छैनन् । प्रहरी प्रशासनले उल्टै आफूलाई यतिको मासु कहाँबाट कसरी ल्याएर दिएको भनेर यातना दिएको उनको गुनासो छ । 

निर्वाचित भएदेखि हरेक वर्ष औरही सरकार अर्थात् शिवजी यादवले महायज्ञ गर्दै आएका छन् । तर, त्यसको हिसाबकिताब सार्वजनिक नगर्दा समितिमै ठुलो विवाद छ । उनले धर्मका नाममा सरकारी बजेटदेखि चिठ्ठा, चन्दा तथा बाहिरबाट ल्याइएको रकमसमेत कुम्ल्याउँदै आएका छन् । यही १७ चैतदेखि सुरु हुने भनिएको विष्णु महायज्ञका लागि अध्यक्ष यादवको नेतृत्वमा ३१ सदस्यीय समिति बनेको छ । समिति बनेलगत्तै महायज्ञको तयारी सुरु भएको छ । महायज्ञ गराउन धनुषाको सबैला घर बताउने बजरंगी बाबा त्यहाँ पुगेका छन् । उनको निर्देशनमा यज्ञ समितिले चन्दा संकलन तथा मूर्ति र अन्य भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । 

यतिखेर डोम परिवारको सर्वस्व हरणका लागि सबै शक्ति लागिपरेका छन् । जागिरबाट हटाइदिने धाकधम्की मात्र नभई उनीहरूको स्वतन्त्र अभिव्यक्तिको समेत चिरहरण भइरहेको छ । यस घटनामा प्रहरी प्रशासन (प्रजिअ वासुदेव दाहाल र एसपी रमेश पण्डित) को पनि ठुलो लापरबाही रहेको देखिन्छ । गाउँपालिका अध्यक्ष यादवको प्रभावमा परेर घटनास्थलमा अनुसन्धान गर्न पुग्दा उनीहरूले पीडितलाई पीडककै अगाडि राखेर पञ्चायती शैलीमा सार्वजनिक रूपमै घटनाको सोधपुछ गरे । जहाँ पीडित परिवारलाई सहमतिमै घर भत्काइएको हो भन्न बाध्य पारियो ।

अध्यक्ष यादवले कहिले सो सार्वजनिक जग्गा तरकारी मन्डीका लागि ठेक्का लगाउन तीनपटक सूचना दिएर खाली गरिएको भनेका छन् भने कहिले उनैले डोमसँग कागजी सहमति गरेर घर भत्काएको भनेका छन् । जबकि ऐलानी–पर्ती जग्गा खाली गर्न २७ कात्तिकमै बनेको समितिले अहिलेसम्म कार्यादेश पाएको छैन । पालिका अध्यक्षले नै कार्यादेश नदिएको र रोकेको समिति सदस्य अमिरी यादवले बताएका छन् । यसरी ऐलानी–पर्ती छुट्याउने समितिले कार्यादेश नै नपाएको अवस्थामा जग्गा खाली गर्न गाउँपालिकाले जारी गरेको सूचनाको अर्थ के हुन्छ ? यसो हेर्दा अध्यक्ष यादवले दलितमाथि गरेको ज्यादतीको अपराधबाट बच्न अपराधमाथि अपराध गरिरहेका छन् । तर, सार्वजनिक रूपमा गल्ती स्विकार्ने पक्षमा छैनन् । यतिसम्म कि उनको पार्टी जसपाले समेत उनलाई जोगाउन विज्ञप्ति निकाल्नुका साथै ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्था छ ।

राजनीतिक दलहरू पछिल्लो समय बदनाम हुनु र उनीहरूप्रति नागरिकमा वितृष्णा पैदा हुनुमा ठुलो कारण केही छैन । उनीहरू आफ्नो नीति सिद्धान्त र विचारबाट स्खलित भएर चुनावमा केवल एउटा सिट जित्नकै लागि आफ्ना असल नेता–कार्यकर्तालाई टिकट नदिई गलत उम्मेदवारविरुद्ध गलत उम्मेदवार खडा गर्ने र जित्ने होडबाजीले राजनीतिक अस्थिरता तलैसम्म मौलाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले औरहीमा शिवजी यादवलाई नै लोकप्रिय उम्मेदवार भनेर चुनावमा टिकट दियो र चुनाव जितायो पनि । तर, यसको असर पार्टीलाई कति प¥यो, त्यो हिसाबकिताब गर्नुभन्दा पीडकलाई संरक्षण गर्नेतर्फ नै जसपा नेपाल लागिपरेको देखिन्छ । अरूले गर्दा हुने हामीले गर्दा किन नहुने भन्ने मनस्थितिबाट उनीहरू पनि ग्रसित छन् ।

पछिल्लो समय तीन तहकै सरकारले मानव जीवन विकास कार्यमा आफ्नो बजेट खर्च नगरी जातीय र धार्मिक रूपमा सारा बजेट मठमन्दिर तथा भौतिक निर्माण कार्यलगायत मेलाठेला र खेलकुद कार्यमा बढी केन्द्रीकृत गरेको देखिन्छ । औरही सरकार र दरबारको यज्ञकाण्ड एउटा उदाहरण मात्र हो । अनुसन्धान गर्दै जाने हो भने स्थानीय सरकारको करिब ९० प्रतिशत बजेट त्यहीँ खर्च भइरहेको छ । जसमा बेथिति र भ्रष्टाचार गर्न सजिलो छ । त्यसैले यतिवेला धर्मभिरु जातिवादी, सामन्ती तथा दोस्रो दर्जाका ‘राजा’हरू जनप्रतिनिधि छन् । उनीहरू अधिकांश विपन्न दलितविरोधी छन् । उनीहरूलाई निर्वाचनमा दलितको भोट र अन्य दिनमा उनको दास र हनुमान भए पुग्छ । चुनाव जितेपछि तिनलाई वरिपरि आफ्नो जाति, पार्टी, धर्म र परिवार भए पुग्छ, अरू केही चाहिँदैन । बाँकी उनलाई दुहाई दिन, सलामी गर्न तथा उनको पार्टी कार्यक्रममा औपचारिकता निर्वाहका लागि उपस्थिति जनाइदिए पुग्छ । तिनलाई नाम र सहभागिताका लागि जनता र कामका लागि बेथिति र भ्रष्टाचार भए पुग्छ । यसर्थ, यतिवेला जातीयता र धर्मका रक्षक तथा पोषकका रूपमा तीनै तहको सरकार खासगरी स्थानीय सरकार अगाडि देखिएको छ । यी घटना सत्य होइन भने उनीहरूले भनेजस्तै हामी हिन्दुहिन्दु एक हौँ विभेद र छुवाछुत छैन र गर्दैन हिन्दु धर्मले भने, दलितभित्र अछुतको पनि अछुत कोटीमा पर्ने डोमलाई आयोजित यज्ञभूमिमा डोम परिवारकै हातबाट खाना पकाएर खाएको र देउता घरभित्र प्रवेश गराएको सार्वजनिक रूपमा भिडियो समाचार सम्प्रेषण गर्ने हिम्मत गरियोस्, घामझैँ छर्लंग हुनेछ । 
 

सुझावित समाचार