दुई हत्याका घटनामा तीन पक्राउ

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

मध्यपुरथिमि नगरपालिका– ९ बोडे नीलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एकजनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका– २ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका– ६ घर भई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढामगरलाई पक्राउ गरेको हो । 

साँझ सुत्न जाने वेलामा बुढामगरको साथमा रहेको रु. १०० राईले खोसेर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुइँमा लडाएर ढुंगाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

त्यसैगरी, गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका– २ सानोथिमि मगरगाउँ जाने राधाकृष्ण सडकखण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका– ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका– ३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

See More On

सुझावित समाचार