व्यास नगरपालिका– १३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दुध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहनस्वरूप एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन्। गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए ।
पाँच वर्ष अघिदेखि कृषि पेसामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड– १९ का वेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए ।
उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दुध उत्पादन गरी मासिक चार लाखको दुध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए ।
गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दुध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख बचत हुने गरेको उनले बताए । बाँस्तोलाले भने, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेसाप्रति गौरव महसुस भएको छ ।’
यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उनी गाउँमा सबैभन्दा धेरै दुध उत्पादन गर्ने किसान भएको बताए ।
गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन् । उनले ५० वटा बोयर बाख्रा पालेका छन् । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए ।
सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेसा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ ।