नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको तेस्रो महाधिवेशनले सापकोटासहितका पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । काठमाडौंमा शनिबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ र महिलातर्फ शोभा गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन् । महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी र उपमहासचिवमा डिमप्रसाद पौडेल चुनिएका छन् ।
यस्तै, सचिवहरूमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन् । महासंघका तीन आयोगहरूमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष सापकोटाले महासंघमा नेतृत्व सम्हालेसँगै देशभरका सम्पूर्ण उद्योगी व्यवसायीको हकहितमा काम गर्ने बताए । ‘नेपाल उद्योग तथा व्यवसायी महासंघलाई साना, घरेलुदेखि मझौला तथा ठुलो उद्योगी व्यवसायीको प्रतिनिधित्व हुने गरी छाता संगठनका रूपमा अझ सशक्त ढंगले अघि बढाउनेछौँ,’ उनले भने, ‘अहिले धेरै उद्योगी–व्यवसायी समस्यामा परेका छन् । उनीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
अहिले नेपालको व्यावसायिक जगत् इतिहासमै जटिल र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै सरकारले ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’ ल्याउनुपर्नेसमेत उनको धारणा छ । ‘विश्वव्यापी रूपमा आएको कोरोना महामारी र त्यसपछिको रुस–युक्रेन युद्धजस्ता बाह्य परिस्थितिबाट सिर्जित समस्याका कारण लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको नेपालको व्यावसायिक जगतले आगामी दिनमा जटिल अवस्था भोग्नु नपरोस् भन्ने हाम्रो धारणा छ,’ उनले भने, ‘यस्तो अवस्थाबाट गुज्रिरहेका साना–मझौला, ठुला व्यवसायीलाई भर्खरै मात्र जारी भएको अध्यादेशले केही हदसम्म मलम लगाउने काम भएको छ ।’ तर, यो क्षेत्रलाई पुनः ब्युँताउँदै उत्साहित गराउन र सहज तरिकाले हिँडाउन एउटा गतिलो कार्यक्रम सरकारले ल्याउनुपर्छ ।