क्रान्तिकारी चलचित्र बन्न सक्थ्यो ‘छावा’

छावामा ‘उत्तरदायी शासनको माग गर्ने क्रान्तिकारी चेतना’लाई ‘हिन्दु राष्ट्रको पुनरुत्थान र शक्तिशाली, गैरजवाफदेही सरकारको स्थापना’तर्फ मोडिएको छ

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

चलचित्र ‘छावा’ले १७औँ शताब्दीको अन्त्यतिर एक शक्तिशाली साम्राज्यविरुद्ध मराठाको आत्मनिर्णयको संघर्षको कथालाई चित्रण गर्छ । वास्तवमा यो आश्चर्यको विषय हो किनभने आधुनिक लोकतान्त्रिक राष्ट्र पनि आत्मनिर्णयका दाबीलाई प्रायः विखण्डनवादी मानिन्छ र यिनले ती दाबीलाई सहानुभूति देखाएर हेर्दैनन् । सामान्यतया आत्मनिर्णयसम्बन्धी आन्दोलनमाथि कडा दमन गरिन्छ, राज्यले हिंसात्मक बल प्रयोग गर्छ र राष्ट्रवादी भावनाले त्यसलाई समर्थन गर्छन् । वास्तवमा टाढाका भूमिसँग सम्बन्धित मामिलामा समेत हामी उत्पीडितप्रति ऐक्यबद्धता देखाउन सकिरहेका छैनौँ । हामी कुनै क्रान्तिकारीलाई समर्थन गर्दैनौँ, न त उपनिवेशपछि उदाएका संघर्षप्रति नै विशेष रुचि देखाउँछौँ ।

हामी हाम्रा मित्रराष्ट्रको साम्राज्यवादी प्रवृत्तिलाई आवश्यक आलोचनात्मक दृष्टिले हेर्दैनौँ । हामी भूमि अखण्डताको सवालमा कठोर छौँ र विरोधप्रति सशंकित छौँ । हामी प्रायः केन्द्रीकृत, अधिनायकवादी नीति–निर्माणले सफलता ल्याउँछ भन्ने तर्क गर्छौँ ।हामी एक शक्तिशाली एवं अधिनायकवादी राज्यलाई मन पराउन थालेका छौँ । हामी खुसीसाथ ‘राष्ट्रविरोधी’लाई गोली हानेर मार्न वा कम्तीमा पनि अदालतको प्रक्रियाविनै जेल हाल्न सहमत हुन्छौँ । तर मराठा जनताले मुगल साम्राज्यलाई दिएको चुनौती, तिनका राजाको वीरता र त्यसको प्रत्युत्तरस्वरूप साम्राज्यले देखाएको क्रूरताले भने जनसाधारणलाई गहिरो रूपमा प्रभावित गरेको छ । यहाँ एक धुत्र्याइँ देखिन्छ । ‘छावा’को सन्दर्भ दोस्रो मराठा राजा सम्भाजीप्रति सम्बन्धित छ जो मुगल साम्राज्यविरुद्ध विद्रोही नायक थिए । उनका पिता शिवाजीले मुगलविरुद्ध विद्रोह गर्दै मराठा सरदारलाई एकत्रित गरेर एउटा महासंघ निर्माण गरेका थिए । 

तर चलचित्रको कथा सम्भाजीको साम्राज्यविरोधी संघर्षलाई ज्योतिराव फुलेले भन्ने गरेको सामाजिक रूपमा उत्पीडितको मुक्तिदाताका रूपमा प्रस्तुत गर्दैन । बरु चलचित्रले उनलाई ‘धर्मवीर’ अर्थात् एक हिन्दु राजा जो इस्लामिक साम्राज्यविरुद्ध पवित्र युद्ध लडिरहेका थिए भन्ने रूपमा चित्रण गर्छ । ‘पवित्र युद्ध’को अवधारणा सम्भवतः क्रुसेड (नवौँदेखि ११औँ शताब्दीसम्ममा इसाई र मुसलमानबिचको धर्मयुद्ध)बाट उधारो लिएको देखिन्छ । फिल्मको लम्बेतान क्लाइमेक्समा सम्भाजीलाई मुगल सेनाले क्रूरतापूर्वक यातना दिएको देखाइन्छ जुन मेल गिब्सनको ‘द प्यासन अफ द क्राइस्ट’को क्लाइमेक्ससँग मिल्दोजुल्दो लाग्छ । 

‘छावा’ले पनि दर्शकलाई भावनात्मक आवेगमा ल्याएर हिन्दु राष्ट्र निर्माणको सन्देश दिन्छ । उसो त बालबालिकालाई निषेधित प्रमाणपत्र दिइएको भए पनि तिनलाई यो प्रोपोगान्डामा तानिएको छ । ‘उत्तरदायी शासनको माग गर्ने क्रान्तिकारी चेतना’लाई ‘हिन्दु राष्ट्रको पुनरुत्थान र शक्तिशाली, गैरजवाफदेही सरकार स्थापना’तर्फ मोडिएको छ । ‘पवित्र युद्ध’को अवधारणा संकीर्ण सोचको उपज हो । यसलाई इस्लामवादी समूहले पनि मध्यपूर्वमा पश्चिमी वा क्षेत्रीय साम्राज्यवादविरुद्ध वा कस्मिरमा आन्दोलनलाई संगठित गर्न प्रयोग गरेका छन् । हरेक कथाका बहुमुखी पाटा हुन्छन् । कला र प्रोपगान्डाबिचको फरक के हो ? कलाले नयाँ कल्पनाको ढोका खोल्छ जबकि प्रोपगान्डाले अन्य सबै प्रश्नलाई बन्द गर्छ र एउटा मात्रै सत्य स्थापित गर्न खोज्छ ।

यो चलचित्रमा सम्भाजीलाई आलोचनाभन्दा पर राखिएको छ र औरंगजेबलाई सुधार गर्नै नसकिने खलनायक बनाइएको छ । सम्भाजीको चरित्रलाई अझ जटिल र बहुआयामिक बनाउन सकिने ठाउँ थियो तर चलचित्रले यस्ता वैकल्पिक व्याख्यालाई पूर्ण रूपमा नकारेको छ । आजकाल यस्ता फरक दृष्टिकोण राख्न खोज्नु भावनामा चोट पुर्याउनुको आरोपमा आफैँमाथि मुद्दा निम्त्याउने कारण बन्न सक्छ । ‘छावा’ हेरिरहँदा विभिन्न विचार दिमागमा आएका थिए । फिल्म क्रान्तिकारी संघर्षमा हुने हिंसाको विषयमा एक गम्भीर विमर्श बन्न सक्थ्यो ।

सम्भाजीले बुरहानपुरमाथि गरेको आक्रमण (जसका लागि उनलाई ‘बुरहानपुरका जनताविरुद्ध अपराध’ गरेको आरोपमा मृत्युदण्ड सुनाइयो), गोवामा पोर्तुगालीमाथि देखाएको अत्याचार, वा मुगलसँग साँठगाँठ गरेको आशंकामा आफ्नै मराठा सरदारलाई मृत्युदण्ड दिएका घटना फिल्ममा समावेश गर्न सकिन्थ्यो । तर, फिल्मले यी सबै सन्दर्भ हटाएर ‘औरंगजेबका सन्तान’ (आजका भारतीय मुस्लिम)प्रति क्रोध मात्र उत्पन्न गराएको छ । तर, औरंगजेबको साम्राज्यभित्र विभिन्न क्षेत्रीय राजा र समुदायको भूमिका जटिल थियो ।

–     राजपुत मुगल दरबारको केन्द्रमै थिए र यी मुगल     साम्राज्यसँग नजिक थिए ।
–     मिर्जा राजा जयसिंहले छत्रपति शिवाजीलाई पराजित गरी पुरन्दरको सन्धि गर्न बाध्य पारेका थिए ।
–     बिजापुरका आदिल शाह र गोलकुण्डाका कुतुब शाही मराठासँग मिलेर मुगलविरुद्ध लड्न चाहन्थे, तर पछि उनीहरू नै मराठाको तारो बनेका थिए ।

त्यसैले मराठा साम्राज्यप्रति समर्थन धार्मिक आधारमा मात्र नभई तत्कालीन समयको शक्ति सम्बन्धका आधारमा पनि निर्भर थियो । अहिले पनि यस्तै छ । मानिस प्रायः आफ्नो विशेषाधिकार र सत्तासँगको सम्बन्धअनुसार असहमतिको समर्थन वा विरोध गर्छन् । जोजति सत्ताको नजिक हुन्छ, उसलाई असहमति त्यति राष्ट्रविरोधी गतिविधिजस्तो लाग्छ । र, सत्ताको प्रवृत्ति सधैँ उस्तै रहन्छ ।

चलचित्रको अन्तिमतिर सम्भाजीलाई पक्रेर कैद गरिन्छ । त्यहाँ उनलाई सम्राट् औरंगजेबसँग साक्षात्कार गराइन्छ । एक घाइते स्वतन्त्रता लडाकु सम्मानपूर्वक सम्राट्लाई हेरिरहेको छ । ऊ आफ्नो सिद्धान्तमा अडिग देखिन्छ । आज संवैधानिक व्यवस्था भएका मुलुकका अदालतमा समेत असहमतिको आवाजलाई यति सम्मानजनक स्थान दिइन्न । कुनै राजनीतिक बन्दीले आफ्नो पक्षमा कुरा राख्न पाउनु त परै जाओस्, उसको कथामै तोडमरोड गरिन्छ । आधुनिक राज्यले पनि सत्ताविरोधीलाई बेपत्ता पार्ने, यातना दिने र भाष्यलाई यति कुशलतापूर्वक मोड्ने कला जान्दछन्, जसले विद्रोहीको भाष्य मौन हुन्छ । थप खतरनाक के छ भने विद्रोहीकै भाष्यलाई विकृत पारेर उपयोग गरिन्छ । राज्यले राष्ट्रवाद र सुरक्षाजस्ता शब्द प्रयोग गरी आन्दोलनकारीलाई आतंककारी र कविहरूलाई अपराधी बनाउँछ । र, क्रूर सत्ताको चरित्र धेरै वर्षदेखि उस्तै छ ।

(आलम दिल्लीमा आधारित अधिवक्ता हुन्) द वायरबाट

सुझावित समाचार