इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनू : विभाग

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ।

सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानाकर्षण गराएको हो।

श्रमिक आपूर्तिकर्ता कम्पनीहरूले सुरक्षा, सरसफाइ तथा फोहोर, बगैँचा व्यवस्थापन, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिक, चालक लोड, परिचालक, अनलोड सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन, मर्मतसम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, डकर्मी, इलेक्ट्रिसियन सिकर्मीलगायत निर्माण श्रमिक र घरेलु श्रमिक आपूर्ति गर्दै आएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको यस विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर श्रम ऐनविपरीत कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले असल श्रम अभ्यासका लागि श्रम प्रशासनसँग सम्बन्धित विभिन्न ६ वटा कानुनी व्यवस्थाबारे सूचना जारी गरे। विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, बालश्रम निवारण, सामाजिक सुरक्षा कोषमा योगदान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन कार्यान्वयनका लागि आजै सूचना जारी गरेको छ। नियमित अनुगमनबाहेक पनि गुनासो र उजुरीका आधारमा यी सूचना जारी गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए।

‘यस विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने, ‘प्रतिष्ठानहरूमा मर्यादित एवं उचित श्रम अभ्यासको वातावरण निर्माण गर्न सरोकारवाला सबैसँग आग्रह गर्छौँ।’ रासस

सुझावित समाचार