०८४ सालसम्म म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। पार्टीको तराई–मधेश जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका प्रचण्डले प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

सरकारमा हुँदा एक कुरा र सरकारबाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनको भनाइ छ। सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याजपीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टि लगाउने काम गरेको स्मरण गराए।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको दाबी गर्दै प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकारबाहिर, माओवादी एउटै हो।’

केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै उनले राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे।

संविधान निर्माणको क्रममा नै १० वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रस्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको जानकारी गराए। यसमा जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडककेन्द्रित तराई–मधेश जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गरिने पनि उनले बताए।

See More On

सुझावित समाचार