महिलाका यौनिक स्वायत्तताबारे ‘कामसूत्र’को बुझाइ

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

केही मानिसका लागि कामसूत्र शब्द केवल कन्डम ब्रान्ड, सुगन्धित तेल वा यौन आसनसँग सम्बन्धित नाम मात्र हो । भारत, जहाँ यौन सम्बन्धित विषय अझै पनि वर्जित मानिन्छ, त्यहाँ प्राचीन यौन ग्रन्थ कामसूत्रलाई प्रायः ‘अश्लील पुस्तक’का रूपमा हेरिन्छ । तर, यो संकुचित दृष्टिकोणलाई एकातिर राख्ने हो भने कामसूत्र यौन स्वतन्त्रताको ग्रन्थ हो, जसले विशेषतः महिलाका लागि क्रान्तिकारी भूमिका खेल्न सक्छ ।

भारतीय समाजमा महिलाको यौन सुखलाई प्रायः अदृश्य बनाइन्छ, अर्थात् सांस्कृतिक मौनताका पत्रले छोपिएको हुन्छ । अर्थात्, महिलालाई आफ्ना इच्छा दबाउन सिकाइन्छ र पुरुषको आवश्यकतालाई प्राथमिकता दिइन्छ । यति भन्दै गर्दा कामसूत्रलाई संस्कृत भाषाका भारतीय दार्शनिक वात्सायनले तेस्रो शताब्दीमा रचेका हुन् ।

यो ग्रन्थ केवल यौन आसनसँग सम्बन्धित पुस्तक मात्र होइन । ‘काम’को अर्थ प्रेम, यौन, इच्छा र आनन्द हो, जब कि ‘सूत्र’ले सिद्धान्तलाई जनाउँछ । यस ग्रन्थले सम्बन्ध, नैतिकता र सामाजिक मान्यताबारे चर्चा गर्छ । यसले पारस्परिक सम्मान र समझदारीका लागि एउटा रूपरेखा प्रस्तुत गर्छ । सन् २०१६ मा प्रकाशित ‘रिडिमिङ द कामसूत्र’ नामक पुस्तकमा भारतीय संस्कृति र समाजका विद्वान् वेन्डी डोनिगर वात्सायन महिलाको यौन आनन्दका पक्षधर मात्र नभई उनीहरूको शिक्षाको अधिकार र इच्छा व्यक्त गर्ने स्वतन्त्रताको पनि वकालत गर्थे भनेर तर्क गरिएको थियो । पुरुष वर्चस्वलाई सुदृढ गर्नुभन्दा कामसूत्रले आपसी आनन्द र सहमतिको महत्वलाई जोड दिएको थियो । पुस्तकले यौन सम्बन्धलाई पुरुष विजयका रूपमा नभई साझा अनुभवका रूपमा चित्रित गर्छ ।

कामसूत्र यौन स्वतन्त्रताको त्यस्तो ग्रन्थ हो, जसले विशेषतः महिलाका लागि क्रान्तिकारी भूमिका खेल्न सक्छ

कामसूत्रलाई पुरुष–केन्द्रित यौन ग्रन्थका रूपमा बुझ्ने धारणा यसको पहिलो अंग्रेजी अनुवाददेखि नै सुरु भएको देखिन्छ । सन् १८८३ मा बेलायती सैनिक र अन्वेषक सर रिचर्ड बर्टनले अनुवाद गर्दा महिलाको स्वतन्त्रतालाई उजागर गर्ने अंश हटाएका वा परिमार्जन गरेका थिए । यसले महिलाको भूमिकालाई सक्रिय सहभागीबाट परिवर्तन गरी पुरुष आनन्दका लागि मात्र समर्पित पात्रका रूपमा प्रस्तुत गरेको थियो । तर, गणेश शैलीजस्ता विद्वान्ले मूल कामसूत्रले महिलालाई अन्तरंग सम्बन्धमा समान सहभागीका रूपमा चित्रण गरेको थियो । ग्रन्थअनुसार महिलाले आफ्नो आवश्यकता हाउभाउ, भावना र शब्दमार्फत अभिव्यक्त गर्थे, जसले उनीहरूको आनन्दलाई पुरुषको बराबरी स्थानमा राख्थ्यो । अझ महत्वपूर्ण के थियो भने संवादलाई अन्तरंगताको अभिन्न हिस्सा मानिएको थियो, जसले महिलाको सहमतिविना यौन सम्बन्ध अस्वीकार्य रहेको पुष्टि गथ्र्यो ।

यो समृद्ध इतिहास भए पनि भारतीय समाजले अझै पनि महिलाको यौनिकतासम्बन्धी बहसलाई प्रायः दबाइरहेको हुन्छ । भारतीय यौन शिक्षक तथा पत्रकार लिजा मंगलदासका अनुसार महिलाको यौन आनन्द अझै पनि वर्जित विषय हो, जहाँ सांस्कृतिक अपेक्षाले महिलालाई मौन, अधीनस्थ र विवाहपूर्व यौन निष्क्रिय रहन बाध्य पार्छन् । समाज वैज्ञानिक दीपा नारायण यो दमन परिवारबाटै सुरु हुने तर्क गर्छिन् । बालिकालाई आफ्नै शरीर अस्वीकार गर्न र पुरुषका इच्छालाई प्राथमिकता दिन सिकाइन्छ ।

यो नियन्त्रण पितृसत्तात्मक सामाजिक मान्यतामा विस्तार हुन्छ, जसले महिलाको कुमारीत्वलाई सद्गुणका रूपमा ठान्छ, तर पुरुषका लागि यस्ता कुनै अपेक्षा राख्दैन । यौन सम्बन्धलाई महिलाले ‘दिने’ कुराजस्तो गरिन्छ, न कि उनीहरूले भोग्ने अनुभवका रूपमा हेरिन्छ । आनन्दलाई पुरुषको अधिकारका रूपमा हेरिन्छ, तर महिलाका लागि यसलाई सधैँ गौण ठानिन्छ । पुरुषका लागि सम्भोग रमाइलोका लागि हुन्छ, तर महिलाका लागि मात्र बच्चा जन्माउने साधनका रूपमा चित्रण गरिन्छ । तर, कामसूत्रले फरक कुरा भन्छ । यसले मूलभूत रूपमा महिलालाई यौन आनन्दका सक्रिय सहभागीका रूपमा वर्णन गरेको छ । यसले महिलाको संवेदनशीलतालाई फूलको कोमलतासँग तुलना गर्दै उनीहरूलाई माया, ध्यान र सम्मान आवश्यक पर्ने बताएको छ ।  

मेरो आफ्नै अनुसन्धान ‘कामसूत्र नारीवाद’मा केन्द्रित छ । प्राचीन ग्रन्थ कामसूत्र केवल यौन सम्बन्धबारे मात्र नभई यौन स्वायत्ततासँग पनि सम्बन्धित छ । यसले महिलालाई आफ्ना इच्छा अभिव्यक्त गर्न र आफ्नो आनन्द नियन्त्रण गर्न स्वतन्त्र गराउँदै पितृसत्तात्मक मान्यतालाई चुनौती दिन्छ । कामसूत्रले महिलाको यौनिकतालाई नियन्त्रित वा दमन गरिनुपर्ने विचारलाई अस्वीकार गर्छ । यसले पारस्परिक सन्तुष्टि र सहमतिको पैरवी गर्छ ।

डोनिगर कामसूत्रलाई नारीवादी ग्रन्थका रूपमा वर्णन गर्छिन्, किनभने यसले महिलालाई आफ्ना जोडी रोज्ने, आफ्नो इच्छा स्वतन्त्र रूपमा व्यक्त गर्ने र सुखद यौन सम्बन्धमा संलग्न हुने अधिकारको पक्षपोषण गर्छ । यसले महिलाको यौन स्वायत्तताका लागि आर्थिक स्वतन्त्रतालाई महत्वपूर्ण कारकका रूपमा मान्यता दिन्छ । वित्तीय स्वतन्त्रता व्यक्तिगत निर्णय गर्ने क्षमतासँग गाँसिएको हुन्छ ।

अन्ततः कामसूत्रले पितृसत्तात्मक संरचना, जहाँ महिलाको यौनिकता नियन्त्रित गरिन्छ र यौन स्वतन्त्रताको दृष्टिकोणबिचको द्वन्द्वलाई प्रतिनिधित्व गर्छ । यसले एउटा वैकल्पिक भाष्य प्रस्तुत गर्छ, जहाँ आकर्षण पुरुष वर्चस्व नभई पारस्परिक आनन्दको विषय हुन्छ । यसका शिक्षाले अन्तरंग सम्बन्धबारे खुला छलफललाई प्रवद्र्धन गर्छन्, जसले महिलालाई सम्बन्धमा आफ्ना आवाज पुनः स्थापित गर्न मद्दत गर्छ । 

एक शताब्दीभन्दा बढी समयदेखि कामसूत्रलाई गलत रूपमा बुझिँदै आएको छ । यसको क्रान्तिकारी सन्देशलाई सेन्सरसिप र सांस्कृतिक लज्जाका पत्रले ढाकिएको छ । तर, यसले सहमति, समानता र महिलाको स्वायत्तताको महŒवबारे बोल्छ । कामसूत्रलाई यौन सशक्तीकरणको मार्गदर्शकका रूपमा पुनस्र्थापित गर्नु गहिरो रूपमा जरा गाडिएका यौन सम्बन्धित वर्जित भाष्यलाई तोड्न र महिलाको आनन्दबारेको छलफललाई पुनः परिभाषित गर्न सहयोगी हुन सक्छ । महिलाको इच्छा अझै पनि नियन्त्रित गरिने अवस्थामा यो प्राचीन ग्रन्थले हामीलाई महिलाको यौन आनन्द अधिकार हो भन्ने सम्झाउँछ ।

(सारा कार्डिफ मेट्रोपोलिटन विश्वविद्यालयकी कामसूत्र नारीवादमा विद्यावारिधि गर्दै छिन्) द कन्भर्सेसनबाट

सुझावित समाचार