एसइईको पहिलो दिन : मोबाइलबाट चिट चोर्नेदेखि प्रश्नपत्र बाहिरिनेसम्मका घटना

शुक्रबार, ८ चैत, २०८१
डिजिटल संस्करण

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन बिहीबार मोबाइलबाट चिट चोर्नेदेखि प्रश्नपत्र बाहिरिनेसम्मका घटना भएका छन् । सिराहाको लहान नगरपालिका– १९, सोनमती गाढास्थित जनता वनवाली माध्यमिक विद्यालयबाट प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको आधा घण्टामै प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिए पनि परीक्षा भने रोकिएन । त्यस्तै, रौतहटको मौलापुर– ६ स्थित श्री मावि पथराबुधराम केन्द्रमा चिट चोराएको भिडियो सामाजिक सञ्जालमै भाइरल भएको छ । परीक्षा सुरु भएको आधा घण्टापछि अभिभावकहरू पुगेर विद्यार्थीलाई मोबाइल दिएका थिए । परीक्षा सुरु हुनुअघि सर्च गरेर कतिपयको मोबाइल बाहिरै राख्न लगाइएको भए पनि पछि झ्यालझ्यालबाट मोबाइल परीक्षा हलभित्र पु¥याइएको थियो । त्यसक्रममा ७६ थान मोबालइन जफत गरिएका छन् । 

‘प्रश्नपत्र बाहिरिएको र चिट चोरेको विषयमा अध्ययन गरिरहेका छौँ, हामीले बुझेअनुसार परीक्षा दिन हलमा पुगेका विद्यार्थी एक घण्टापछि निस्किएपछि प्रश्न बाहिर आयो भन्ने हो,’ परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘मोबाइल हेरेर लेखेका एक विद्यार्थी निष्कासन भएका छन् ।’ उनका अनुसार परीक्षा हलमा निरीक्षकका लागि पनि मोबाइल फोन निषेध गरिएको छ । तर, सिराहाकै एक परीक्षा केन्द्रमा निरीक्षकले मोबाइल चलाएको भेटिएपछि निष्कासन गरिएको छ । 

त्यस्तै, रूपन्देहीको लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा नक्कली परीक्षार्थी भेटिए । परीक्षा सुरु भएपछि प्रवेशपत्र चेक गर्ने क्रममा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली प्रशिक्षार्थी फेला परेका हुन् । नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बोर्डका अनुसार यस वर्षको एसइईमा देशभरका पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रहरूमा बिहीबार बिहान ८ बजेदेखि नै एसइई सुरु भएको थियो । केही परीक्षा केन्द्रबाहेक सबैमा मर्यादित रूपमा परीक्षा सञ्चालन भएको बोर्डले जनाएको छ । यसपटक देशभर दुई हजार ८० केन्द्रमा एसइई परीक्षा भइरहेको बोर्डले जनाएको छ । 

काठमाडौंको मानसिंह धर्म माविमा परीक्षा केन्द्र राख्दा लेनदेन भएको भन्दै उजुरी परेको छ । ‘उक्त विद्यालयमा अनियमितता भएको भनेर सतर्कतामा बेनामे उजुरी परेको छ, त्यसबारेमा सतर्कताले अध्ययन गर्दै होला,’ परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रण पौडेलले भने । उनका अनुसार परीक्षा केन्द्रमा भएका मुख्य घटना यिनै हुन् । अन्य विद्यालयमा भने शान्तिपूर्ण र मर्यादित रूपमा परीक्षा सञ्चालन भएको उनले बताए । 

राष्ट्रिय परीक्षा बोर्डले एसइई अनुगमनका लागि यसपटक प्रशासनिक क्षेत्रका कर्मचारी परिचालन गरेको छ । विगतका वर्षमा शिक्षा सेवा आयोग तथा शिक्षक पेसामा सम्बन्धित व्यक्तिलाई नै अनुगमन गर्न दिने गरिएकोमा यसपटक भने प्रशासनिक तर्फका कर्मचारीहरू खटाइएको हो । विगतमा भएका कमीकमजोरीलाई ध्यान दिएर यसपटक नयाँ अभ्यास अपनाइएको बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । 

See More On

सुझावित समाचार