आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा वीरगन्ज कारागारका चारजना कैदीबन्दी सहभागी भएका छन् । एसइई परीक्षामा विभिन्न मुद्दाका चारजना पुरुष कैदीबन्दी सहभागी रहेको वीरगन्ज कारागारका जेलर खिमराज भुसालले जानकारी दिए ।
कारागारका कैदीबन्दीलाई कारागारभित्र नै एसइई परीक्षा दिने व्यवस्था गरिएको उनले बताए । एसइईको परीक्षामा सहभागी हुन एकजना बाराबाट र तीनजना कैदीबन्दीले पर्साबाट फारम भरेकाे जेलर भुसालले बताए । पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागिता भएका छन् । जसमा पाँच हजार ७३६ छात्रा र पाँच हजार ६७७ छात्र रहेका छन् । जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ ।
यीमध्ये २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी १७ केन्द्र रहेका छन् भने बाँकी १२ केन्द्र जिल्लाका अन्य १३ स्थानीय तहमा फैलिएका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।