एमालेको जरा अभियानको स्वरूप परिवर्तन

अभियानमा थपियो प्रतिगमनको प्रयासविरुद्ध देशैभर जनपरिचालन कार्यक्रम

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

एमालेले माघबाट सुरु गरेको तीनमहिने जरा(जनतासँग राय संवाद) अभियानको प्रारम्भिक समीक्षा गर्दै पूर्वनिर्धारित स्वरूप परिवर्तन गर्ने भएको छ । पूर्वराजावादीहरूको प्रदर्शन र आन्दोलनको तयारीसँगै राजनीतिक घटनाक्रम बदलिएर प्रतिगमनका लागि प्रयास भइरहेको आन्तरिक विश्लेषणसहित एमालेले पूर्वनिर्धारित स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो । 

मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रतिगमनको प्रयासविरूद्ध जनचेतनाका लागि देशैभर जनपरिचालन तयारीबारे छलफल गरेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला र पालिका कमिटीहरूको नेतृत्वमा ६ हजार ७ सय ४३ वटै वडामा प्रतिगमनको प्रयासविरूद्ध जुलुस र सभा आयोजना खाका तयार पारेको छ । सोमबारको केन्द्रीय सचिवालय बैठकले प्रतिपक्षसँग समेत मिलेर प्रतिगमनको प्रयासविरुद्ध प्रहार केन्द्रित गर्ने र जरा अभियानको स्वरूपमा संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालयले कार्यक्रमको स्वरूप तयार पारेको स्थायी समिति सदस्य तथा संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले जानकारी दिए । ‘केन्द्रीय कार्यालयले जिल्ला, पालिका र वडाहरूमा सार्वजनिक सभा र जुलुसमार्फत पुनर्उत्थातनवादी शक्तिहरूको चलखेलविरूद्ध जनपरिचालन कार्ययोजना बनाएको छ,’ अधिकारीले भने, ‘जरा अभियानमै जनपरिचालन गर्ने गरी कार्यक्रमको स्वरूप केही दिनमै सार्वजनिक हुनेछ ।’

एमालेले आगामी वैशाख पहिलो सातासम्मका लागि जरा अभियान चलाउने घोषणा गरेको थियो । ९ वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा अभियान समापन गर्ने योजना थियो । वडा र टोलमा केन्द्रित अभियानअन्तर्गत सदस्यता विस्तार र नवीकरण, भेला तथा प्रशिक्षण कमिटीको अभिवेशन, सुझाव संकलन र जनताको समस्या समाधानमा अग्रसरता लिनेलगायतका कार्ययोजनाअनुसार अभियान चलिरहेको छ । अभियानको उत्तराद्र्धतिर पुग्नै लाग्दा सोमबारको सचिवालय बैठकमा प्रारम्भिक समीक्षा भएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । ‘प्रारम्भिक समीक्षा ग¥यौँ, टोलटोलसम्म भेला गर्ने अभियान राम्रैसँग चलिरहको प्रारम्भिक रिर्पोटसहित समीक्षा भएको छ,’ उनले भने, ‘अब त्यही अभियानभित्र पूर्वराजावादीहरूको प्रतिगमनको प्रयासले जनतामा सिर्जना भइरहेको भ्रम चिर्न जनपरिचालन गर्ने योजना बनेको छ ।’ 

संगठन विभाग प्रमुख अधिकारीले राष्ट्रिय रूपमै समीक्षा नभए पनि जिल्ला र प्रदेशहरूले मध्यावधि समीक्षा गरेर प्रारम्भिक रूपमा उत्साहजनक रिर्पोट दिएको बताए । अभियानले निष्क्रिय कमिटी र कार्यकर्तालाई पनि चलायमान बनाएको र कमिटीको संख्या थपिएर सदस्यता विस्तार अभियान पनि चलिरहेकाले उत्साहजनक नै मानिएको उनको भनाइ छ । ‘पहिला हामी वडामा मात्रै थियौँ, अहिले सबै टोलमा पुगेका छाँै, अधिवेशन हुन बाँकी वडामा अधिवेशन भएका छन्, नयाँ टोल कमिटी बनेका छन्,’ अधिकारीले भने । 

अभियानअन्तर्गत करिब साढे चार लाख सदस्यता विस्तार गरेर १० लाख पु¥याउने एमालेको लक्ष्य छ । आगामी २०, २१ र २२ भदौमा हुने विधान महाधिवेशनअगावै लक्ष्य पूरा गर्ने र ०८२ भित्रै महाधिवेशन सम्पन्न गर्ने गरी काम अगाडि बढाउन एमालेले केन्द्रीय सदस्यहरूलाई आन्तरिक निर्देशन दिएको छ । अघिल्लो वर्षको अन्तिमसम्म एमालेमा साँढे ५ लाख संगठित सदस्य छन् । 

एमालेले ०८४ को आमनिर्वाचनमा बहुमत ल्याउने लक्ष्य घोषणा गर्दै वडाहरूमा कम्तीमा प्रतिभावान् १५ जना नयाँ युवालाई भर्ती गरेर प्रशिक्षित गर्न, विशेषतः महिलाहरूलाई संगठित गर्न जोड दिएको छ । विधान महाधिवेशनलगत्तै पार्टी महाधिवेशन आयोजना हुन सक्ने भएकाले एमालेका कमिटी त्यसअनुसार नै अहिलेदेखि परिचालित हुने स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

See More On

सुझावित समाचार