कञ्चनपुरको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीकी राना निर्वाचित

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी रविना राना सभापति निर्वाचित भएकी छिन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बेलौरी नगरपालिका– ८ कलकत्तामा रहेको रामपुर क्याम्पसमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीकी विद्यार्थी नेता राना सभापतिमा निर्वाचित भएकी हुन्।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले राना सभापतिमा निर्वाचित भएको बताए। एमालेनिकट अनेरास्ववियुकी विमला रेग्मीलाई पाँच मतको अन्तरले हराउँदै राना सभापतिमा निर्वाचित भएकी हुन्। रानाले आठ मत ल्याउँदा, रेग्मीले तीन र राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनकी शाेभा विष्टले दुई मत ल्याएका छन्।

कुल १४ मतदाता रहेको रामपुर बहुमुखी क्याम्पसमा १३ मत खसेको क्याम्पस प्रमुख मदनबहादुर चन्दले बताए। 

यसअघि पदाधिकारी र सदस्यहरूमा पनि अखिल क्रान्तिकारीबाटै निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवमा क्रान्तिकारीका निशा लम्साल, कोषाध्यक्षमा रुक्मणी चौधरी, सदस्यहरूमा रामफुल राना, रामेश्वरी राना, सिर्जना चौधरी, लीला राना, फूलकुमारी राना, रिता चौधरी निर्विरोध निर्वाचित भएका हुन्।

कञ्चनपुरमा त्रिविका आंगिकसहित १५ क्याम्पस भए पनि ६ वटामा मात्रै निर्वाचन भएको छ।

सुझावित समाचार