म्यानचेस्टर सिटीका स्ट्राइकर इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा कम खेलमा सय गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत शनिबार राति म्यानचेस्टर सिटीले ब्राइटनलाई २–२ को बराबरीमा रोकेको थियो । प्रतिस्पर्धामा सिटीका हालान्डले पेनाल्टी गोल गरेका थिए । यही गोल नै उनको नाममा रेकर्ड बन्यो । उनले सय गोल संख्या कम खेलमा पूरा गरेको कीर्तिमान लेखाउन सफल भए । उनले केवल ९४ खेलमा कीर्तिमान बनाएका हुन् । यसअघि एलान सेरेररको नाममा सय खेलमा सय गोलको रेकर्ड थियो ।
सन् २०२२ मा हालान्ड जर्मन क्लब बोरुसिया डटमन्डबाट ५१.२ मिलियन पाउन्डमा सिटीसँग आबद्ध भएका थिए । उनको यो प्रिमियर लिगमा तेस्रो सिजन हो । प्रिमियर लिग इतिहासमा सर्जियो अगुएरो, थियरी हेनरी र जिमी फोर्डले चार सिजनमा सय गोल संख्या पुर्याएका थिए । यसैगरी ह्यारी केनले छैटौँ सिजनमा प्रिमियर लिगमा सय गोल संख्या पूरा गरेका थिए ।
इंग्लिस टोलीकै उत्कृष्ट स्ट्राइकरका रूपमा रहेका सेरेररले प्रिमियर लिगमा ब्ल्याकबनबाट सय गोल संख्या पुर्याएका थिए । सेरेररभन्दा हालान्डले ६ खेलअगाडि नै कीर्तिमान बनाए । सिटीका लागि समग्रमा हालान्डले ११९ खेलमा १३७ गोल संख्या पु¥याएका छन् । हालान्डकै उत्कृष्ट प्रदर्शनमा सिटीले युरोपियन फुटबलमा ट्रेबल उपाधि जितेको थियो ।
उत्कृष्ट तीन सिजन
नर्वेका युवा स्ट्राइकर प्रिमियर लिगमा आबद्धयता उत्कृष्ट फर्ममा छन् । अघिल्लो दुई सिजनमा सिटीले प्रिमियर लिग उपाधि रक्षा गर्ने क्रममा उनकै योगदान सर्वाधिक रह्यो । पहिलो सिजनमा हालान्डले ३६ खेलमा ४४ गोल गरेका थिए । उनले त्यसवेला प्रिमियर लिगमा दुई हजार ७७६ मिनेट बिताएका थिए । यसैगरी, सन् २०२३/२४ को सिजनमा हालान्डले २७ खेलमा ३२ गोल विपक्षी पोस्टमा गरे ।
चालू सिजनमा उनले २१ खेलमा २४ गोल गरेका छन् । उनले दुई सिजनमै समग्रमा सिटीबाट ८० गोल संख्या पुर्याएका थिए । हालान्डले वेस्टह्यामविरुद्ध सर्वाधिक नौ गोल एकल प्रयासमै गरेका छन् । यसैगरी म्यानचेस्टर युनाइटेडविरुद्ध उनले ६ एकल प्रयास तथा तीन गोल असिस्टबाट गरेका थिए । उल्भ्स, क्रिस्टिल प्यालेस, चेल्सी, ब्राइटन, आर्सनल, टोटनह्याम तथा नटिंघम फरेस्टविरुद्ध उनले समान ६ गोल गरेका छन् ।
धेरै असिस्ट गोल
प्रिमियर लिगमा सय गोल संख्या पुर्याउँदा एरिक कान्टोनाले धेरै असिस्ट पाएका थिए । उनले ५८ गोल एकल प्रयास गरेका थिए । ४२ गोल साथीहरूको पासमा गरेका थिए । कान्टोनापछि म्याथ्युसले दोस्रो अस्टिस पाए । उनले ६२ गोल एकल गर्दा ३८ गोल असिस्टबाट निकालेका थिए । अगुएरो, लेस फर्डिनान्डले समान ७७ एकल गोल गर्दा २३ असिस्ट गोल गरेका थिए ।