बर्दिया निकुञ्जमा पर्यटक बढे

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

चालू आवको सात महिनामा १५ हजारले गरे बर्दिया निकुञ्ज भ्रमण, गत आवको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले बढी

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । निकुञ्जभित्र बाघ, गैँडा तथा हात्तीलगायत जंगली जनावर हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको निकुञ्जले जनाएको छ ।

चालू आव ०८१/८२ को सात महिना (माघसम्म)मा कुल १४ हजार सात सय ४८ जना पर्यटकले निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । निकुञ्ज प्रवेश गर्नेममा विदेशी तीन हजार ६ सय नौ, सार्क मुलुकबाट सात सय नौ र आन्तरिक पर्यटक १० हजार चार सय ३० रहेका छन् । गत आवको सोही अवधिमा भने १३ हजार सात सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यो गत आवको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले बढी हो । 

यद्यपि, ०८०/८१ मा भने बाह्य तथा आन्तरिक गरी कुल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको पौडेलको भनाइ छ । जसमध्ये विदेशी पर्यटक ६ हजार ६ सय ८४ जना, सार्क राष्ट्रका एक हजार चार सय ३७ र नेपाली १८ हजार १० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । त्यस्तै, अघिल्लो आव ०७९/८० मा कुल २४ हजार तीन सय २४ र आव ०७८/७९ मा १६ हजार दुई सय ९७ जनाले निकुञ्ज भ्रमण गरेका हुन् । 

पर्यापर्यटनको दृष्टिकोणले बर्दिया निकुञ्ज महत्वपूर्ण मानिन्छ । निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल मृग, बाह्रसिङे रतुवा सजिलै देख्न पाइन्छ । यसकारण पनि पर्यटकको रोजाइमा निकुञ्ज पर्न थालेको सूचना अधिकारी पौडेलले बताए । 

सिनियर गाइड हेमन्त आचार्यले निकुञ्जमा तराईका सबैभन्दा ठुला र सजिलै जनावर देख्न सकिने भएकाले बर्दिया आउने पर्यटक बढ्दै गएको बताए । ‘विश्वप्रसिद्ध टाइम म्यागाजिनले सन् २०२४ का लागि तयार पारेको संसारका सय सर्वोत्कृष्ट गन्तव्यको सूचीमा बर्दियाको मधुवन नगरपालिकास्थित ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ सूचीकृत छ । यसकारण पनि यस वर्ष विदेशी पर्यटक बढ्ने सम्भावना देखिन्छ,’ उनले भने । 

पछिल्लो समयमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएपछि कोभिडका कारण ओरालो लागेको होटेल व्यवसायले पनि गति लिन थालेको गैँडा क्याम्पका सञ्चालक रामजी थापाले बताए । 

उनका अनुसार निकुञ्ज घुम्न आउनेमध्ये नेपाली पर्यटकको संख्या धेरै रहेको छ । ‘विदेशी पर्यटकलाई लाग्ने महँगो हवाई भाडाले पनि यहाँ आउने पर्यटकको संख्या कम भएको हो । कम हवाई भाडादर कायम गर्न सके विदेशीको संख्या पनि बढ्ने थियो,’ उनले भने । 
 

सुझावित समाचार