तराईमा विशेष प्रकारले होली मनाइने र यसको महत्त्व निकै ठुलो हुने हुँदा देशका विभिन्न स्थानमा रङहरूको पर्व होली आजबाट सुरु भएको छ। होली आज फागुन २९ गते पहाडमा भोलि चैत्र १ गते तराईका जिल्लाहरूमा मनाइँदै छ। कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा रङहरूको बिक्री एक हप्तादेखि सुरु भइसकेको छ। अबिर तथा रङ व्यापारीहरूले एक साताअघिदेखि नै यसको बिक्री सुरु गरिसकेका छन्।
जिल्लाका मुख्य बजार कृष्णनगर, तौलिहवा, चन्द्रौटा, बनगाई, चार नम्बर, महाराजगन्ज, बहादुरगन्ज, पकडी, मर्यादपुरलगायतका क्षेत्रमा होलीको रङ बिक्री सुरु भइसकेको छ। नेपालमा रङ उत्पादन नहुने भएपछि व्यापारीहरूले भारतीय बजारहरूबाट होलीका लागि सामग्रीहरू भित्र्याएका छन्। व्यापारीहरूले यस वर्षको होलीका लागि करिब २० लाख बढीका रङ र त्यससँग सम्बन्धित अन्य सामग्री खरिद गरेको बताएका छन्।
उनीहरूले विशेष गरी विभिन्न प्रकारको अबिर, रङ, पिचकारी, लोला, होलीमा लगाइने टोपीहरू खरिद गरी ल्याएका हुन्। नेपालमा यी सामग्रीहरूको उत्पादन नहुने भएपछि बाध्य भई भारतीय बजारबाट सामग्रीहरू ल्याउनुपरेको व्यापारीहरूले बताएका छन्। सिजनअनुसारको व्यापारमा नाफा हुने भएपछि व्यवसायीहरूले यसको व्यापार गर्ने गरेको पाइन्छ। भारत तथा नेपालको तराई क्षेत्रमा यही चैत्र १ गते होली पर्व भव्यताका साथ मनाइने भएको छ।
नेपाली बजारमा रङजन्य पदार्थको बर्सेनि माग भइरहँदा पनि यसको उत्पादनतर्फ कसैले ध्यान नदिएको कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल कपिलले बताएका छन्। प्रत्येक होलीको पर्वमा मात्र कपिलवस्तुबाट करिब २५ देखि ३० लाखसम्म रकम रङ खरिदका लागि बिदेसिने गरेको बताउँदै उनले नेपालमा चाउचाउ र बिस्कुट उत्पादनमा मात्र व्यवसायी आकर्षित हुने गरेको बताए। पौडेलले व्यापारीहरूले होली पर्वमा मात्र नेपाली व्यापारीहरूले बर्सेनि करोडौँ रकम भारतमा बुझाउन परिरहेको बताउँदै नेपालमा यसको उत्पादन भए सहज र राम्रो हुने बताए।
व्यापारीहरूले नेपाल भित्रिएका रङ तथा त्यससँग सम्बन्धित सामग्रीहरूको भन्सार भने गरेका पाइएको छैन। कृष्णनगर भन्सार कार्यालय तथा मर्यादपुर छोटी भन्सार कार्यालयका अनुसार कुनै पनि व्यापारीले रङजन्य सामग्री भन्सार नभएको बताएका छन्। भन्सार थोरै लाग्ने भए पनि सीमा क्षेत्रमा रहेका तस्करहरूबाट उनीहरूले रङ नेपाल भित्र्याएको हुन सक्ने भन्सार कर्मचारीहरूको भनाइ छ।