चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत चालू आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् ।

पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित यहाँ नौ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र पाँच योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए । यहाँ मुस्ताङको थासाङ– ४ स्थित कैकु खोला, थासाङ– २ को लार्जुङ खोला, जोमसोम–मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो ।

आयोजनाका अनुसार मुस्ताङको थासाङ– ४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न रु. पाँच करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । थासाङ– ४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माण सम्पन्न गर्न रु. दुई करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा रु. ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए । राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग रु. तीन करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

सुझावित समाचार