जुम्लामा आलु प्रदर्शनी मेला

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

जुम्ला सदरमुकाम खलंगा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ। जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासंघको संयोजकत्वमा आज मंगलबार स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्रांगणमा मेला आयोजना गरिएको हो।

मेलामा जिल्लाका आठवटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु संकलन गरी प्रदर्शन गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

भूमि समस्या समाधान आयोगका विज्ञसदस्य सुमन आचार्यले जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको बताए। तिलाको ढिपु, हिमाको पाथरखोला, सिँजाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तिर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु संकलन गरी प्रदर्शनीमा राखिएको थियो।

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ। आर्थिक वर्ष ०८०/८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार ४५० मेट्रिक टन उत्पादन भएको थियो।

यसैगरी, चालू आवमा दुई हजार २९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार ९३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

सुझावित समाचार