माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारको अविवेक र अकर्मन्यताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुन थालेको बताएका छन् ।
संसद् बैठकमा आज सम्बाेधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । आठ महिना अघिसम्म यस्तो ठुलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ,’ प्रचण्डले भने, ‘सारा उपलब्धिलाई उल्टाउने कोसिस हुँदै छ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापविरुद्ध र अर्कातिर प्रतिगामी चलखेलविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ ।