धनगढीमा आन्दोलनरत विद्यार्थीले फ्याँके कांग्रेसका झन्डा

आन्तरिक प्रतिस्पर्धा गराएर कर्मचारी स्थायी गर्ने विधेयकको व्यवस्था हटाउन माग

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

प्रदेश सभामा विचाराधीन सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयककाे विरोधमा आन्दोलनरत विद्यार्थीले धनगढी मुख्य बजारमा लगाइएका नेपाली कांग्रेसका झन्डा फ्याँकेका छन्।

मुख्यमन्त्री कार्यालयअगाडि सडकको ‘मिडियन’मा लगाइएका झन्डा हटाउन थालेपछि आन्दोलनरत विद्यार्थी र कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका कार्यकर्ताबिच झडपको स्थिति बनेको थियो।

सोमबार हुने पार्टीको प्रदेश सम्मेलनका लागि कांग्रेसले सडकमा झन्डा लगाएको थियो। सम्मेलनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू धनगढी आउने कार्यक्रम छ। नेताहरूको स्वागतका लागि सडकमा लगाइएका झन्डा विद्यार्थीले हटाएका हुन्।

प्रस्तावित कानुनविरुद्ध अखिल क्रान्तिकारीलगायत संगठनको अगुवाइमा विद्यार्थीहरू केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीलाई एकपटकका लागि प्रदेश लोकसेवा आयोगमार्फत आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्ने प्रावधानसहित प्रतिवेदन तयार गरेको छ।

आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्ने व्यवस्था राख्न नहुने माग गर्दै विद्यार्थी आन्दोलनमा छन्। उनीहरुले सीमित कर्मचारीलाई लाभ पुग्ने गरी राखिएको व्यवस्था हटाएर लोकसेवा आयोगको परीक्षा खुला हुनुपर्ने माग गरेका छन्। यो विधेयकमाथि समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाइसकेको छ।

आन्दोलनरत विद्यार्थीले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहसँग यस विषयमा छलफल गरेका थिए। छलफलमा मुख्यमन्त्री शाहले प्रस्तावित प्रावधान हटाउने प्रतिबद्धता जनाएका थिए। तर, सरकारले लिखित सहमति गर्न नमानेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्।

सुझावित समाचार