पहिलोपटक विधानसभामा निर्वाचित रेखा गुप्तालाई दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त गरेर भारतीय जनता पार्टी (भाजपा) नेतृत्वले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले करिब एक दशकअघि तय गरेको ढाँचालाई पछ्याएको छ । मोदी र साहले अपेक्षाकृत रूपमा एक सफल युवा नेतृ छानेका छन्, जो पार्टीको दर्शनप्रति प्रतिबद्ध छिन् । जनतासँगै सहजै भिज्न सक्ने उनमा दीर्घकालीन रूपमा राज्यका मामिला व्यवस्थित गर्ने क्षमता छ ।
रेखा गुप्ता एक भद्र र मिलनसार नेतृ हुन् । सरकार वा विधानसभामा आफ्ना केही पार्टी सहकर्मीको तुलनामा उनी केही अपरिचित हुन सक्छिन्, तर पार्टी कार्यकर्ताको रूपमा उनको क्षमता आफैँमा उच्च छ ।
विद्यार्थी राजनीतिबाट आएकी गुप्ताले पहिलोपटक सफलता र चर्चा पाइन्, जतिवेला उनी १९९५ मा दिल्ली विश्वविद्यालय विद्यार्थी संघ (डियुएसयु) मा आरएसएसको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपिए) को उम्मेदवारको रूपमा महासचिवमा निर्वाचित भइन् । तर, उनको राजनीतिक यात्रा सधैँ सहज भएन । उनले नगरपालिकाको पार्षदका रूपमा राजनीतिमा कठोर परीक्षणको सामना गरेकी छिन् । उनी सन् २०१५ को विधानसभा चुनाव र मेयरको चुनावमा आम आदमी पार्टीसँग पराजित भइन् ।
यी धक्काका बाबजुद उनी दृढ रहिन् । दिल्ली नगर निगममा उनले अध्यक्षता गरेका विभिन्न समितिको अध्यक्षको हैसियतमा, भाजपाको राष्ट्रिय महिला मोर्चाको उपाध्यक्षको रूपमा र पार्टीको दिल्ली राज्य एकाइको महासचिवको रूपमा दृढ भएर काम गरिन् । उनले २०२५ को विधानसभा चुनाव लगभग ३० हजार मतको अन्तरले जितिन्, जुन दिल्लीको मापदण्डअनुसार आफैँमा महत्वपूर्ण छ ।
गुप्तालाई दिल्ली सरकारको नेतृत्व गर्नका लागि राम्रो विकल्पको रूपमा चयन गरिएको छ, जुन समकालीन राजनीतिमा दुर्लभ छ । उनीविरुद्ध कुनै मुद्दा मामिला छैन र तीन दशकभन्दा बढी समयदेखि सक्रिय भए पनि पूर्ण रूपमा विवादरहित रेकर्ड छ । महिला हुनु र वैश्य समुदायबाट प्रतिनिधित्व गर्नु भाजपाका लागि थप सकारात्मक पक्ष हुन् ।
यसअघि आम आदमी पार्टीका अरविन्द केजरिवाल र उनका उत्तराधिकारी आतिसीले अभ्यास गरेको राजनीति टकरावविपरीत कमसेकम अहिलेसम्म रेखाको राजनीतिको शैली शान्त र मेलमिलापयुक्त छ । दिल्लीका जनताले परिवर्तनको पक्षमा भारी मत दिएका छन् भने उनी निःसन्देह त्यो परिवर्तनको नयाँ अनुहार हुन् ।
गुप्ताले प्रवेश साहिब सिंह बर्मा, आशिष सुद, मजिन्दर सिंह सिरसा, कपिल मिश्रा, रवीन्द्र इन्द्रज सिंह र पंकजकुमार सिंहसहित एक आशाजनक मन्त्रिपरिषद् गठन गरेकी छिन्, जो दिल्लीका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्छन् र विभिन्न सामाजिक क्षेत्रसँग सम्बन्धित छन् । उनीहरू सबै आ–आफ्नो ठाउँमा नेता सावित भएका छन् । नयाँ भाजपा सरकारबाट के अपेक्षा गरिएको छ र यसले कसरी आफ्ना वाचा पूरा गर्न चाहन्छ भन्ने रूपरेखा प्रधानमन्त्री मोदीले पार्टीको राष्ट्रिय मुख्यालयमा पार्टी कार्यकर्तालाई मार्च ८ मा गरेको सम्बोधनमा उल्लेख गरेका थिए । चुनावी परिणामको घोषणापछि उनले सरकारका प्रतिबद्धताको रूपरेखा पेस गरेका थिए ।
दिल्ली लेफ्टिनेन्ट गभर्नर र मुख्यमन्त्रीबिचको टकराव आम आदमी पार्टीको १० वर्षको शासनकालमा लगभग दैनिक दिनचर्या बनेको थियो । आशा छ, अब विगतको कहानी दोहोरिनेछैन । केन्द्र र दिल्ली सरकारले जनतालाई सुशासन दिन सामञ्जस्य गर्ने अपेक्षा गरिएको छ ।
नयाँ सरकार गठन हुनुअघि नै पवित्र यमुना नदी सफा गर्ने प्रयास थालियो । नदी सफा गर्न मेसिन प्रयोग गरेको तस्बिर भाइरल भइरहेको थियो । कतिपय क्षेत्रमा क्षतिग्रस्त सडक मर्मतको काम सुरु भएको छ । प्रधानमन्त्री मोदीको वाचाअनुसार नवनियुक्त मुख्यमन्त्री गुप्ताको पहिलो घोषणा ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस) सम्म योग्य महिलाहरूको खातामा मासिक सहायताको रूपमा २५ सय भारु पहिलो किस्ता हस्तान्तरण गर्ने थियो ।
भाजपा नेतृत्वको दिल्ली सरकारले शनिबार यो योजना कार्यान्वयन गर्न ५१०० करोड रुपैयाँको विनियोजनलाई अनुमोदन गरेको छ । उता आम आदमी पार्टी (आप) ले गत महिना भएको विधानसभा चुनावको समयमा सत्तापक्षले गरेको वाचा पूरा गर्न ढिलाइ भएकोमा आलोचना गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भाजपा अध्यक्ष जेपी नड्डाले महिला समृद्धि योजनाको तत्काल कार्यान्वयनको घोषणा गरे, जसअन्तर्गत राष्ट्रिय राजधानीका योग्य महिलाले प्रतिमहिना २५०० रुपैयाँ पाउनेछन् । पार्टीको महिला मोर्चाको एक कार्यक्रममा मुख्यमन्त्री गुप्ता र अन्य वरिष्ठ भाजपा नेताहरूको उपस्थितिमा यो घोषणा गरिएको थियो ।
महिला समृद्धि योजना लागू गर्न उनको नेतृत्वमा एक समिति गठन गरिएको छ । ‘हामीले अघिल्लो दिन मन्त्रिपरिषद्को बैठक गर्यौँ र मन्त्रिपरिषद्ले हामीले (सत्तारुढ भाजपा) हाम्रो (चुनाव) घोषणापत्रमा गरेको वाचामा अनुमोदनको छाप लगाएका छौँ । यसले दिल्लीका गरिब महिलालाई सहयोग गर्ने योजनालाई अनुमोदन गरेको छ,’ उनले भनिन् ।
अन्तमा रेखाले एउटा महत्वपूर्ण चुनौती र अवसरको सामना गरिरहेकी छिन् । त्यो हो केन्द्रको मोदी सरकारको सहयोगमा दिल्लीलाई स्वच्छता, पूर्वाधार र शासनको सन्दर्भमा एक नमुना सहर बनाउने जिम्मेवारी ।
–एनडिटिभीबाट