बर्दियामा खो खो लिग प्रतियोगिता हुने

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

नेपालमा पहिलोपटक राष्ट्रिय खो खो लिग प्रतियोगिता हुने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानिपुरस्थित खो खो कबर्ड हलमा २३ देखि ३० चैतसम्म लिग प्रतियोगिता हुने भएको हो।

ठाकुरबाबामा नेपालकै पहिलो खो खो कबर्ड हल रहेको छ । बर्दियामा सबैभन्दा बढी खो खो खेलका खेलाडी रहेको तथा अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलमा समेत सहभागी हुने  पालिका भनेर ठाकुरबाबा चिनिने गरेको छ।

प्रतियोगिताको आयोजना नेपाल खो खो सङ्घले गरेको हो भने लुम्बिनी प्रदेश खो खो संघ व्यवस्थापक र ठाकुरबाबा नगरपालिका मुख्य प्रवद्र्धक रहेको जनाइएको छ । 
शनिबार गुलरियामा भएको पत्रकार सम्मेलनमा खो खो संघमा केन्द्रीय उपाध्यक्ष छत्रबहादुर शाहीले प्रतियोगितामा ६ टिम सहभागी हुने बताए । उनले भने, ‘खो खो लिगको प्रतियोगिता लागि अहिलेसम्म प्रचारप्रसार र टिम दर्ताको भइरहेको छ । कबर्ड हलको मर्मत समेत भइरहेको छ । खेलमा सहभागी हुनेका लागि खेलाडीलाई २८ फागुनसम्म खो खो खेलका लागि नाम दर्ता समय दिइएको छ ।’ 

प्रतियोगितामा एक टिममा एक प्रशिक्षक र एक व्यवस्थापक रहने आयोजकले जनाएको छ । एक टिममा एकजना अन्तर्राष्ट्रिय खेलमा भाग लिएको खेलाडी, २ जना राष्ट्रिय खेलमा भाग लिएको खेलाडी, ३ जना प्रदेश स्तरीय खेलमा भाग लिएको खेलाडी र ६ जना जिल्ला  स्तरीय खेलमा भाग लिएका खेलाडी खेलमा सहभागी हुने छन् । 
 

सुझावित समाचार