हवाई सुरक्षामा कहिलेसम्म खेलाँची ?

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण
  • उडान सुरक्षामा बारम्बार हेलचेक्र्याइँ गर्दा युरोपेली युनियन (इयू)को कालोसूचीबाट नेपाली आकाश बाहिर निस्कन मुस्किल, बुद्ध एयरको पछिल्लो लापरबाहीले हवाई सुरक्षा संवेदनशीलतामाथि उठ्ने गरेको प्रश्नलाई थप मलजल पुर्‍याएको छ  

नियामक र सेवाप्रदायकले सुरक्षा संवेदनशीलतामा बारम्बार खेलाँची गर्दा हवाई सेवा क्षेत्र सुरक्षा चिन्ताबाट बाहिर निस्कन सकेको छैन ।

बिहीबार साँझ जनकपुर विमानस्थलको धावनमार्गमा अगाडिको एउटा पांग्रा छाडेर बुद्ध एयरको एटिआर–७२ (९एन–एएनएच) जहाज काठमाडौंमा सकुशल अवतरण गरे पनि हवाई सुरक्षा संवेदनशीलतामाथि उठ्ने गरेको प्रश्नलाई थप मलजल गरेको छ । उड्नुअघि अनिवार्य चेकजाँच गर्नुपर्ने नियम भए पनि धावनमार्गमा एउटा पांग्रा छाडेर विमान कसरी ‘टेकअफ’ भयो भन्ने प्रश्न जटिल छ । तर, बुद्ध एयरले यसलाई प्राविधिक गडबडी भनेर सामान्य घटनाका रूपमा लिएको छ । नियामक नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि प्रारम्भिक अनुसन्धान गरी बुद्ध एयरको गल्ती नभएको जनाएको छ । विमान निर्माता कम्पनी एटिआरलाई यस विषयमा सोधीखोजी गर्ने क्यानले जनाएको छ ।

नियामक र सेवाप्रदायकले सामान्य घटनाका रूपमा लिए पनि शुक्रबार बसेको संसद् बैठकमा बुद्ध एयरले ६२ यात्रु लिएर जनकपुर–काठमाडौं उडान गर्दा लापरबाही गरेको भन्दै छानबिन गर्न सांसदहरूले माग राखेका छन् । सांसदहरूले पटक–पटक विमानको उडान सुरक्षामा देखिने गरेको कमजोरी हटाउन सबै प्रतिबद्ध हुनुपर्ने पनि बताएका छन् ।

पछिल्लो तीन वर्षयता मात्रै यती एयरलाइन्स, तारा एयर, एयर डाइनेस्टी, सौर्य एयरलाइन्स, सिम्रिक एयरलगायत जहाज र हेलिकोप्टर दुर्घटना भइरहेका छन् । दुर्घटनापश्चात् मानवीय क्षति हुँदा जाँचबुझ आयोग बन्ने, तर हवाई उडान क्षेत्र सुधार हुनुको सट्टा ज्युँको त्युँ रहेको छ ।

बिहीबारको बुद्ध एयरको घटनामा उडानअघि, उडान अवधिभर र अवतरणका क्रममा पाइलटले नोज ह्विल नभएको थाहा नपाउनु आश्चर्यजनक भएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलको भनाइ छ । जहाजको नोज गियर भाँचिएर पांग्रा उछिट्टिएको क्यानको प्रारम्भिक निष्कर्ष छ ।

हवाई सुरक्षा अभिवृद्धि गर्ने जिम्मेवारी नियामक निकाय र सेवाप्रदायक दुवैको भएको कांग्रेस सांसद तथा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य उदयशमशेर राणाले बताए । ‘हवाई सुरक्षाको जिम्मेवारी वायुसेवा कम्पनीले निभाउनुपर्छ, त्योभन्दा जिम्मेवारी प्राधिकरणको पनि हो,’ उनले भने, ‘कतिपय अवस्थामा प्रयास गर्दा–गर्दै पनि कैफियत निस्कन्छ, तर प्राधिकरणले हवाई सुरक्षा प्रत्याभूति बढाउन अधिकतम प्रयास गर्नुपर्छ ।’ 

प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक निकाय अलग–अलग बनाएपछि देशमा हवाई सुरक्षा सुधारको काम थालनी हुने सांसद जबराको अपेक्षा छ । संसद्मा सेवाप्रदायक र नियामक छुट्याउने गरी विधेयकसमेत दर्ता भएको छ । हाल क्यानले नै दुवै काम गर्ने भएकाले उडान क्षेत्रमा भइरहेको लापरबाहीमा सुधार नभएको सांसदहरूको आरोप छ ।

नियामक निकायलाई स्वतन्त्र बनाएर उडान क्षेत्रलाई सुरक्षित दिशातर्फ लैजानुपर्ने सांसद राणाको सुझाव छ । ‘सेवाप्रदायकसँग पैसा हुन्छ । नियामकसँग आम्दानीको स्रोत कम हुन्छ । सेवाप्रदायकले दिएको पैसाबाट नियामक निकाय चल्नुपर्ने अवस्था सिर्जना गरियो भने अलग–अलग निकाय बनाउनुको अर्थ रहँदैन,’ उनले भने, ‘त्यसैले आर्थिक रूपमा नियामकलाई बलियो बनाउनुपर्छ ।’

०७८ यताका केही घटना

  • गत २४ साउनमा एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना हुँदा पाइलटसहित पाँचजनाको घटनास्थलमै निधन  
  • गत ९ साउनमा सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै दुर्घटना हुँदा १८ को मृत्यु, एक पाइलटको जीवितै उद्धार  
  • गत २७ असारमा बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना  
  • २५ वैशाख ०८० मा भैरहवाबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको जहाजमा आकाशमै समस्या देखिएपछि भैरहवामा अवतरण  
  • २२ वैशाख ०८० मा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटेखोलामा दुर्घटना  
  • १ माघ ०७९ मा यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेतीको खोचमा खस्दा ७२ जनाको मृत्यु  
  • २५ फागुन ०७९ मा काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज आकाशमा उडिरहेका वेला दायाँ इन्जिनमा आगोको भिल्को देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण  
  • १५ जेठ ०७९ मा तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका सानोसरेमा दुर्घटना हुँदा २२ को मृत्यु  
  • ११ असोज ०७८ मा काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरकै जहाजको पांग्रा अवतरणका लागि नखुलेपछि काठमाडौं फर्काइयो र कठिन अवतरण गराइयो।

बुद्ध एयरको लापरबाही छानबिन गर्न सांसदको माग

सांसदको प्रश्न– कहिले उड्दै गरेको प्लेनमा धुवाँ निस्कन्छ, कहिले पांग्रा खुस्किन्छ, हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन ?

जनकपुरमा पांग्रा छाडेर बुद्ध एयरले काठमाडौं उडान गरेको घटनाबारे छानबिन गर्न शुक्रबारको संसद् बैठकमा सांसदहरूले माग गरेका छन् । राप्रपा सांसद दीपक सिंहले बुद्ध एयरले लापरबाही गरी जनकपुर–काठमाडौं उडान गरेकाले छानबिन गर्नुपर्ने माग राखेका हुन् । ‘हिजो (बिहीबार) भर्खर बुद्ध एयरको जनकपुर एयरपोर्टमा पांग्रा खसेको थियो । काठमाडौंमा एउटा पांग्राले जहाज ल्यान्ड गर्‍यो । यस्तो  लापरबाही छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्छु,’ उनले भने । त्यस्तै, माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।

‘नेपालको हवाई क्षेत्र सिध्याउन बारम्बार लापरबाही भइरहेको देखिँदा तुरुन्त उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गरी हवाई क्षेत्रको व्यापक सुधारको माग गर्छु,’ उनले भनिन् । बिहीबार काठमाडौं–जनकपुर उडान गर्ने यात्रुको मनमस्तिष्कमा भुइँचालो गएको उनको भनाइ थियो । हवाई क्षेत्र बेवारिसे र कमजोर बन्नुमा सेवाप्रदायक र नियामक दुवैको दोष रहेको उनले बताइन् ।

‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो ? यो गम्भीर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यति कमजोर छ, कहिले उड्दा–उड्दै प्लेनमा धुवाँ निस्कन्छ, कहिले पांग्रा खुस्किन्छ, कहिले उड्दा–उड्दै इमर्जेन्सी ढोका खुल्छ, सांसद लामाले भनिन् । 

सुझावित समाचार