खेलतालिकामा समन्वय नहुँदा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज एकै दिन दुई प्रतियोगितामा सहभागी हुन बाध्य
पाँचथर र झापामा शनिबारबाट गोल्डकप सुरु हुँदै छ । फिदिममा पाँचथर र झापामा मेचीनगर गोल्डकप हुँदै छन् । पाँचथरमा चार ‘ए’ डिभिजन क्लबसहित आठ टिम सहभागी हुँदै छन् । झापाको काँकडभिट्टामा हुने मेचीनगर गोल्डकपमा दुई ‘ए’ डिभिजन क्लबसहित आठ क्लब सहभागी हुनेछन् । एपिएफ र एनएसएलको तयारी गरिरहेको झापा एफसी पनि सहभागी हुनेछन् । दुईवटै गोल्डकपको फाइनल पनि २ चैतमा एकै दिन हुँदै छ ।
दुई गोल्डकपका आयोजकबिच समन्वय नहुँदा क्लबलाई समस्या परेको छ । खेलतालिकामा समन्वयन नहुँदा कुनै क्लबको खेल एकै दिन छ भने र कुनैको एक दिन अघि र पछि छ । लिग विजेता चर्च ब्वाइजको खेल दुवै प्रतियोगितामा खेल जुधेको छ । खेल तालिकाअनुसार २५ फागुनमा एकै दिन एउटै समयमा चर्च ब्वाइज मैदानमा हुनेछ । मेचीनगरमा चर्च ब्वाइजले २५ फागुनमा झापा एफसीसँग दिउँसो दुई बजे प्रतिस्पर्धा गर्दै छ । यसै दिन पाँचथरमा २:३० बजे भारतको हिल्स फुटबल एकाडेमीसँग प्रतिस्पर्धा उसले गर्नेछ ।
‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँचथर गोल्डकपमा २६ फागुनमा प्रतिस्पर्धा गर्नेछ । त्यसको भोलिपल्ट मेचीनगरमा प्रतिस्पर्धा गर्नेछ । पाँचथरबाट झापा आउन कम्तीमा चार घण्टा लाग्छ । दुवैतिर एउटै खेलाडीलाई आराम नपुग्ने निश्चित छ । फिफाको नियमअनुसार खेलाडीलाई एउटा खेलपछि ७२ घण्टा आराम आवश्यक पर्छ ।
मेचीनगर गोल्डकप २१ फागुनदेखि हुने भनिएको थियो । पछि मिति सारेर २४ फागुनबाट गर्ने भनियो । जसले गर्दा सहभागी क्लबलाई समस्या परेको पाँचथर क्लबका अध्यक्ष कमल तुम्म्रोकले बताए । काँकडभिट्टासँग सहकार्य गर्न खोज्दा–खोज्दै हुन नसकेको उनको भनाइ छ । ‘हामीले समन्वय गर्न खोज्यौँ । खेलतालिका पनि तीन दिन ढिला गरी सार्वजनिक ग¥यौँ । तर, समन्वय हुन सकेन,’ उनी भन्छन्, ‘खेल पनि जुधेको छ । फाइनल पनि एकै दिन छ ।’
हतारमा आयोजना
हतारमा प्रतियोगिता गरेका कारण नै खेलतालिका मिलाउन नसकिएको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । ‘लामो समय रोकिएपछि पाँचौँ मेचीनगर गोल्डकप गर्न लागेका हौँ । वैशाखमा गर्ने तयारी थियो । तर, एनएसएल र राष्ट्रिय टिमको बन्द प्रशिक्षणका कारण अहिले गर्नुपर्ने भयो,’ उनले भने, ‘यो बाध्यकारी अवस्था हो । पाँचथरसँग समन्वय गर्दा–गर्दै मिलेन । अब क्लबले दुईवटा टिम बनाएर खेल्छन् ।’
चर्च ब्वाइजका अध्यक्ष रुविन राईले एन्फाले तालिका नमिलाउँदा क्लबको प्रतिष्ठा जोगाउनै समस्या भएको बताए । ‘खेलाडीले आराम पाउँदैनन् । जसका कारण चोटपटक लाग्ने खतरा पनि हुन्छ । अरितिक्त खेलाडीको व्यवस्थापन गरेर खेल्नुपर्छ,’ राईले भने, ‘खेलाडी, व्यवस्थापक र कोचको व्यवस्थापन गर्न निकै गाह्रो भएको छ ।’
सबै तालिका एन्फाले मिलाउँदा राम्रो हुने सहभागी क्लबका पदाधिकारीले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने गोल्डकपको स्वीकृति मागेपछि दिएको जनाएको छ । एन्फा प्रवक्ता सुरेश साहले खेलतालिका भने आयोजकले समन्वय गरेर मिलाउनुपर्ने बताए । ‘गोल्डकपको स्वीकृति मागेपछि हामीले दिने हो । १४ वटा ‘ए’ डिभिजन क्लब छन् । कुन गोल्डकपमा कुन क्लब जान्छ भन्ने थाहा हुँदैन,’ उनले भने, ‘खेलतालिका त गोल्डकप आयोजकले समन्वय मिलाउनुपर्ने हो ।’
मेची नगर गोल्डकपको तयारी पूरा
पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शुक्रबार आयोजनाको सबै तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उद्घाटन खेलमा भारतीय टोली जर्जियन एफसीको सामना गर्नेछ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन हुने प्रतियोगिताको पहिलो दिन महिलाले निःशुल्क रंगशालामा प्रवेश र सबै खेलमा ज्येष्ठ नागरिकले पनि टिकट शुल्क तिर्नुनपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालक समितिका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरलाई नेपाली खेलकुदको केन्द्र बनाउने योजना बनाए । ‘मैदान स्तरीय बनाउन चुनौती थियो । दीर्घकालका लागि रंगशालामा प्यारापिट बनाउने सोच बनाएका छौँ,’ मैनालीले भने, ‘मेचीनगर नगरपालिकामा फुटबलसँगै क्रिकेटमा पनि उत्तिकै माहोल छ ।’ उनका अनुसार प्रतियोगिताको बजेट एक करोड रहेको छ । ६ हजार दर्शक अटाउने अस्थायी प्यारापिट बनाएको उनले भने ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, उच्च गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र प्रशिक्षकलाई समान २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ११ हजार रुपैयाँ पाउनेछन् ।