काठमाडौं महानगरपालिकाले ६ ठाउँमा सुलभ फार्मेसी सञ्चालन गर्ने

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । 

कामनपाकी उपप्रमुख सुनिता डंगाेल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो । 

नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आबद्ध नभएका नागरिकका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरू ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डंगाेलले जानकारी दिइन्। 

औषधि ब्रान्डका आधारमा नभई औषधिमा भएका तत्त्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामनपाले वि.सं. २०८१ मा फार्मेसी सञ्चालन नियमनसम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरूको नियमन गर्ने भएको हो ।   

कामनपाका फार्मेसीहरू सञ्चालन व्यवस्थापन गर्न–गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसीविज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्यसचिव छन्। 

कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ । गत वर्षदेखिकै यो योजना कार्यान्वयनमा भने ढिलाइ भइरहेको छ। 
 

सुझावित समाचार