मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी पूरा भएको छ। आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गर्दै भव्य रूपमा पाँचौँ संस्करण आयोजनाका लागि सबै तयारी पूरा भएको जानकारी गरायो।
प्रतियोगिताको शनिबार हुने उद्घाटन खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले दिउँसो २ बजे भारतीय टोली जर्जियन एफसीको सामना गर्नेछ। काँकडभिट्टा खेलमैदानमा हुने प्रतियोगिताका सबै खेल खेलाडीडटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन सुरु हुने प्रतियोगिताको पहिलो दिन महिलाहरूले निःशुल्क रंगशालामा प्रवेश पाउनेछन् भने प्रतियोगिताका सबै खेलमा ज्येष्ठ नागरिकले टिकट शुल्क तिर्नुपर्ने छैन।
प्रतियोगिता सञ्चालक समितिका संयोजक तथा पूर्वमाननीय श्रीप्रसाद मैनालीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराउँदै मेचीनगरलाई नेपाली खेलकुदको केन्द्र बनाउने योजना सुनाए। थुप्रै चुनौतीबिच मैदानलाई खेल्न लायक बनाएको उनको भनाइ थियो।
मैनालीले प्रतियोगिता सम्पन्न गर्न एक करोड अनुमानित खर्च लाग्ने बताउँदै ६ हजार दर्शक अटाउने अस्थायी प्यारापिट बनाएको जानकारी गराए। सांसद गोपाल तामाङले प्रतियोगिताको उद्घाटन गर्नेछन्। यस्तै, समापन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।
प्रतियोगिताका सहसंयोजक तथा आर्थिक संयोजक मेचीनगरका पूर्वमेयर विमल आचार्यले छोटो समयको तयारीमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल सघका अध्यक्ष भगीरथ आले, आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली, पूर्वअध्यक्ष मीनबहादुर बस्नेतलगायतको उपस्थिति थियो।
झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई ५१ हजार, उच्च गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई समान २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसैगरी, उदीयमान खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’ले ११ हजार रुपैयाँ पाउनेछन्।
आइतबार हुने दोस्रो खेलमा सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्चब्वाइज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को टोली झापा एफसीसँग प्रतिस्पर्धा गर्नेछ। फागुन २६ मा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र धरान एफसी भिड्नेछन्। फागुन २७ मा मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।