साँखुस्थित अनाथालयमा टिपरले किचेर तीन बालकको मृत्यु भएको छ। १० जना सुतिरहेको टहरामा शुक्रबार बिहान टिपर अनियन्त्रित भएर पसेको थियो।
प्रहरी वृत्त बौद्धका अनुसार शंखरापुर नगरपालिका–६ सलम्बुटारस्थित साँखु–ब्रम्हखेल सडकखण्डमा युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग पीडित संस्थाको अनाथालयमा बिहान ३ बजेर ४० मिनेटको समयमा टिपर पसेको थियो। सडकबाट अनियन्त्रित भई टिपर टहरोभित्र छिरेको हो।
टहरोमा १० जना सुतेकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
प्रहरीले बा २ क ६५८० नम्बरको टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ घर भएका सागर माझीलाई नियन्त्रणमा लिएको छ।
