नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको विभागीय ‘डर्बी’ क्वार्टरफाइनल खेलमा नेपाल पुलिसले एपिएफलाई २–० ले हराएको छ । हारसँगै साबिक विजेता एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको खेलमा जित निकालेको पुलिस सेमिफाइनलमा पुगेको छ । पुलिसको जितमा अरुण गाहा र मनीष सेढाईंले समान एक गोल गरे ।
गत वर्षको संस्करणमा एपिएफले भारतको पन्जाब पुलिसलाई १–० ले हराएको थियो । पुलिस तेस्रो संस्करणको विजेता हो । त्यसवेला पुलिसले झापा ११ लाई १–० ले हराएको थियो । शुक्रबार हुने तेस्रो क्वार्टरफाइनलमा थ्री स्टारले मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । पहिलो हाफमा एपिएफ र पुलिसबिच गोलरहित बराबरी भएको थियो । खेलको ६६औँ मिनेटमा पुलिसले १–० को अग्रता लियो । उज्ज्वल राईले बायाँ साइडबाट निकालेको पासमा अरुणले उत्कृष्ट हेडिङ गोल गरेका हुन् । खेलको ८७औँ मिनेटमा मनीषले पुलिसलाई २–० को अग्रता दिलाए । रोमाञ्चक पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रतिस्पर्धा गरेका थिए । दुवै टोलीले सहज अवसर खेर फाले । दोस्रो हाफपछि पुलिसले आक्रामक रणनीति अपनायो ।
डिफेन्स र मिडफिल्डमा कमजोर
एपिएफको रक्षापंक्ति र मिडफिल्डमा देखिएको कमजोरीको फाइदा उठाउँदै पुलिसले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका बुद्धिमान राईले खेलको १५औँ मिनेटमा डिबक्सभित्र प्राप्त अवसर खेर फाले । दीपेश धिमालले निकालेको पासमा बुद्धिमानले गोलरक्षकविरुद्ध वान भर्सेस वानमा गोल गर्न सकेनन् । खेलको २०औँ मिनेटमा एपिएफका कप्तान हरि कार्कीले डिबक्सनजिकबाट गरेको प्रहार पोस्टनजिक हुँदै बाहिरियो ।
खेलको ३८औँ मिनेटमा एपिएफका एलिक श्रेष्ठले पोस्टभन्दा ३० यार्डबाट प्रहार गरेका बललाई पुलिसका गोलरक्षक अमित तामाङले उत्कृष्ट बचाउ गरे । खेलको ७०औँ मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिएको थियो । यसअघि एपिएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।