दक्षिण कोरियाको वायुसेनाले आफ्नोे एउटा लडाकु विमानले सैन्य अभ्यासका क्रममा बिहीबार दुर्घटनावश एक गाउँमा बमबारी गरेको जनाएको छ । ‘सैन्य अभ्यासका क्रममा एयर फोर्सको केएफ–१६ विमानले बमबारी गरेका आठवटा एमके–८२ बम निर्धारित फायरिङ रेन्जभन्दा बाहिर अवतरण भएको जानकारीमा आएको छ । बमले पुर्याएको क्षतिका लागि गहिरो खेद प्रकट गर्छाैं । घटनामा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं,’ दक्षिण कोरियाली वायुसेनाले भनेको छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियासँगको सीमाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको पोचेओनमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त घटना भएको थियो । घटनाको अनुसन्धानका लागि दुर्घटना प्रतिकार्य समिति गठन गरिएको छ । क्षतिपूर्तिलगायत सबै आवश्यक कदम समितिले चाल्ने जनाइएको छ ।
सैन्य जेटले वायुसेना र स्थलसेना दुवै सम्मिलित संयुक्त प्रत्यक्ष–फायर अभ्यासमा भाग लिइरहेको समयमा उक्त दुर्घटना हुन पुगेको वायुसेनाले जनाएको छ । दक्षिण कोरियाली (योनहाप) समाचार संस्थाका अनुसार दक्षिण कोरियाले पोचेओनमा बिहीबार संयुक्त राज्य अमेरिकासँग संयुक्त ‘प्रत्यक्ष फायर अभ्यास’ गरिरहेको थियो ।