दशकौँपछि अमेरिका–हमास प्रत्यक्ष वार्ता सुरु

छलफल सबै बन्धक रिहा र दीर्घकालीन युद्धविराम गर्ने विषयमा केन्द्रित

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

ह्वाइट हाउसले ट्रम्प प्रशासनले हमाससँग प्रत्यक्ष वार्ता गरेको पुष्टि गरेको छ । यो छलफल अमेरिकी हित अनुरुप अघि बढिरहेको ट्रम्प प्रशासनले बताएको छ । वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका प्यालेस्टिनीलाई सबै बन्दी रिहा नगरिए घातक परिणाम सामना गर्नुपर्ने धम्की दिएका छन् ।मध्यस्थकर्ताद्वारा सहजीकरण गरिएको छलफल हप्तौँदेखि चलिरहेको बताइएको छ । यो दशकौँपछि पहिलोपटक संयुक्त राज्य अमेरिकाको हमाससँग प्रत्यक्ष वार्ता हो, जसले अमेरिकी नीतिमा उल्लेखनीय परिवर्तन देखाउँछ । अमेरिकाले १९९७ मा विदेशी आतंकवादी संगठन (एफटिओ) तोकेको समूहसँग प्रत्यक्ष संलग्नतालाई अस्वीकार गर्दै आएको थियो ।

केही समयअघिसम्म अमेरिका हमाससँग कुराकानी गर्न मध्यस्थकर्ता (हालसालै कतार र इजिप्ट) मा भर परेको थियो । मध्यस्थकर्ताले २१ वर्षीय इदान अलेक्ज्यान्डरको रिहाइमा ध्यान केन्द्रित गरे, जो अझै पनि जीवित रहेको विश्वास गरिएका एक मात्र इजरायली मूलका अमेरिकी बन्दी हुन् । साथै, तिनीहरूले अक्टोबर ७ मा गाजा लगिएका अन्य चार इजरायली मूलका अमेरिकीको शव पनि मागेका थिए ।

वार्ताको पहिलो रिपोर्टिङ गरेको अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार छलफलमा बाँकी सबै बन्दी रिहा गर्ने र दीर्घकालीन युद्धविराम स्थापना गर्ने सम्भावित बृहत् सम्झौता समावेश छ । वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ कि गत महिना दोहामा वार्ता भएको थियो र फेब्रुअरी १५ मा इजरायली र अमेरिकी दोहोरो नागरिकता भएका सागुई डेकेल चेनलाई रिहा गरिएको थियो । बन्धक मामिलाका लागि अमेरिकी राष्ट्रपतिका दूत एडम बोहलरले हमाससँग प्रत्यक्ष वार्ताको नेतृत्व गरेका छन् । ट्रम्पको पहिलो कार्यकालमा उनी अब्राहम सम्झौताका प्रमुख वार्ताकार पनि थिए, जसले अरब संसारसँग इजरायलको सामान्यीकरणलाई विस्तार गर्न काम गरिरहेका थिए ।

वार्ताको पहिलो रिपोर्टिङ गरेको अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार छलफलमा बाँकी सबै बन्दी रिहा गर्ने र दीर्घकालीन युद्धविराम गर्ने सम्भावित बृहत् सम्झौता समावेश छन् ।

वार्ताबिच ट्रम्पको धम्की
उक्त रिपोर्टपछि ट्रम्पले बुधबार सामाजिक सञ्जाल पोस्टमा सबै बन्धक तुरुन्तै रिहा गर्न माग गर्दै हमासलाई कडा चेतावनी दिए । उनले गाजाका जनतालाई सीधै सम्बोधन गरे । ‘गाजाका जनताका लागि एउटा सुन्दर भविष्य पर्खिरहेको छ, तर तपाईंले बन्धकलाई राख्नुभयो भने तपाईं मृत हुनुहुन्छ ! फुर्तिलो निर्णय गर्नुहोस्,’ ट्रम्पले लेखे । उनले इजरायललाई ‘काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा’ पठाउने बताउँदै चेतावनी दिँदै भने ‘यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासको एकजना पनि सदस्य सुरक्षित हुनेछैन ।’ ट्रम्पले गाजाको जनसंख्याको जातीय सफाया र अमेरिकाले प्यालेस्टिनी भूभाग ‘कब्जा’ गर्ने वकालत गरेका छन् । आफ्नो ‘योजना’ले प्यालेस्टिनीलाई गाजामा आफ्नो घर फर्कन अनुमति नदिने उनले बताए ।

हमासको आपत्ति
वार्ताको रिपोर्टप्रति हमासले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । हमासका एक अधिकारीले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई बताएअनुसार वार्ता इजरायली बन्दी रिहा गर्ने कुरामा केन्द्रित थियो र ‘आशाजनक’ थियो । ट्रम्पको धम्कीप्रति प्रतिक्रिया दिँदै हमासका प्रवक्ता हाजेम कासेमले भने कि ट्रम्पको चेतावनीले ‘युद्धविराम सम्झौतासम्बन्धी मामिलालाई जटिल बनाउँछ र इजरायललाई युद्धविरामका सर्त लागू गर्नबाट टाढा राख्न प्रोत्साहित गर्छ ।’ ‘हमासले पहिलो चरणअन्तर्गत आफ्ना सबै दायित्व कार्यान्वयन गर्यो, तर इजरायल दोस्रो चरणमा प्रवेश गर्नबाट भागिरहेको छ,’ कासेमले थपे, ‘अमेरिकी प्रशासनले दोस्रो चरणका लागि वार्तामा प्रवेश गर्न उसलाई दबाब दिन आवश्यक छ ।’

हमाससँग कति बन्धक बाँकी छन् ?
इजरायलले गाजामा अझै पनि ५९ जना बन्दी रहेको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको विश्वास गरिन्छ । कम्तीमा ३५ जनाको शव हमासको हिरासतमा रहेको इजरायली विश्वास छ । इजरायली सरकारका अनुसार हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग २५० जना बन्दीलाई कब्जा गरेको थियो । २०२३ को अन्त्यतिर एक हप्ता लामो युद्धविरामको क्रममा १०० भन्दा बढीलाई रिहा गरिएको थियो । फेब्रुअरीमा युद्धविरामको पहिलो चरणको समयमा हमासले लगभग १९ सय प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्दी रिहा र थप आठजनाको शव प्राप्त गरेको थियो ।

कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबिच युद्धविराम भएको थियो । पहिलो चरणको युद्धविराममा कैदीबन्दी आदानप्रदान, मानवीय सहायता वितरण र सैन्य कारबाहीमा विराम भएको थियो । सम्झौताको दोस्रो चरणमा अगाडि बढ्नेबारे छलफल इजरायलले रोकेको छ । यस चरणमा बाँकी ५९ बन्दीको रिहाइ, गाजाबाट इजरायली सेना फिर्ती र युद्धको स्थायी अन्त्य समावेश छ । 

वार्तामा इजरायलसँग समन्वय
ट्रम्प प्रशासनले हमाससँग सम्भावित प्रत्यक्ष संलग्नताबारे इजरायलसँग परामर्श गरेको बताइएको छ । यद्यपि, एक्सियोस समाचार संस्थाका अनुसार इजरायलीले अन्य च्यानलमार्फत वार्ताका पक्षबारे थाहा पाए । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन्, ‘यस विषयमा इजरायलसँग परामर्श गरिएको थियो ।’ इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकालाई ‘आफ्नो विचार व्यक्त गरेको’ बताएको छ । न्युयोर्कमा इजरायलका कन्सुल जनरल ओफिर अकुनिसले फक्स न्युजलाई भने, ‘ह्वाइट हाउसबाट हमासविरुद्ध नयाँ दृष्टिकोण आएको छ । तिनीहरू हमाससँग कुरा गर्न सक्छन्, त्यो ठिक छ ।’

अन्योलपूर्ण भविष्य 
प्रत्यक्ष वार्ताका बाबजुद गाजाको युद्धविराम अलपत्र छ । ट्रम्पको धम्कीलाई हमासले जवाफ दिँदै भन्यो कि अमेरिकाले युद्धविराम सम्झौताको दोस्रो चरणबाट पछि हट्ने र गाजामा प्यालेस्टिनीलाई भोकमरी र घेराबन्दी गर्ने नेतन्याहुको प्रयासलाई समर्थन गरिरहेको छ । इजिप्टले यो पनि सुझाव दिएको छ कि इजरायलले सम्झौताको पूर्ण पालना गर्न खोजिरहेको छैन । ‘अहिलेसम्म, केवल पहिलो चरण लागू गरिएको छ, तर अब एउटा पक्ष आफ्नो दायित्वबाट पछि हट्ने प्रयास गरिरहेको छ,’ इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले बुधबार कतारी राज्य समाचार एजेन्सी क्युएनएलाई भने । इजरायली आक्रमण र घेराबन्दी रणनीतिको लगभग १७ महिनादेखि पीडित गाजामा रहेका प्यालेस्टिनीका लागि बिथोलिएको युद्धविराम विफल हुन सक्छ ।

आइतबार इजरायलले हमासलाई युद्धविरामको पहिलो चरणको विस्तार स्वीकारका लागि दबाब दिन गाजामा हुने सबै सहायता रोक्ने बताएको थियो । इजरायली कदमले गाजामा खाद्यान्नको मूल्य तुरुन्तै बढेको थियो । युद्धविरामको समयमा पनि स्थानीयले गाजामा इजरायली तोपखाना र हवाई आक्रमण भएको बताए । युद्धविरामको पहिलो चरण मार्च १ मा समाप्त भयो । अमेरिकी विशेष दूत स्टिव विटकफले पहिलो चरणलाई ६ हप्ता बढाउने प्रस्ताव गरे । नेतन्याहुले प्रस्तावमा सहमति जनाए पनि हमासले यसको विरोध गर्यो । उसले पहिले सहमति भएअनुसार दोस्रो चरणमा अगाडि बढ्न आह्वान गर्यो ।
– अलजजिराबाट

सुझावित समाचार