जुम्लामा जडीबुटीबाट एक करोड २० लाख राजस्व संकलन गरिएको छ । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा एक करोड २० लाखभन्दा बढी राजस्व संकलन गरेको हो । गत आवको सोही अवधिमा शून्य आम्दानी गरेको कार्यालयले चालू आर्थिक वर्ष ०८१/८२ को फागुन महिनाको दोस्रो सातासम्म एक करोड २० लाख राजस्व संकलन गरेको हो ।
जडीबुटी तथा वनपैदावरको प्रचुर सम्भावना रहेको जुम्लामा वन कार्यालयको सक्रियतामा यस वर्ष आम्दानी सन्तोषजनक रहेको कार्यालय प्रमुख भरत बुढ्थापाले बताए । जुम्लामा सामुदायिक वन दुई सय ६ वटा, कबुलियती वन एक सय २७ र निजी ६ वटा रहेका छन् । कबुलियती वन निकै निष्क्रिय रहेका छन् भने सामुदायिक वन समितिमा आर्थिक अपारदर्शिता देखिने गरेको छ ।
यहाँका वनमा पाइने महत्वपूर्ण वनपैदावार भोजपत्र, धुपी, सल्लालगायत लोप हुँदै गएकाले संरक्षणमा जोड दिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गोकर्ण चौलागार्इंले बताए । सामुदायिक वनमा निश्चित व्यक्ति तथा समूहले मात्रै लाभ लिइरहेको हुनाले अतिक्रमण हटाउने सवालमा सबै सरोकारवाला एकजुट हुनुपर्ने उनको भनाइ छ ।