एक अधिकारीको मृत्युको सम्बन्धमा अदालतले पक्राउ गर्न आदेश दिएपछि बेपत्ता भएका आफ्नै प्रमुखको खोजीका लागि श्रीलंकाको प्रहरीले बिहीबार सार्वजनिक अपिल जारी गरेको छ । प्रवक्ता बुद्धिका मनतुंगाले प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष एकाइमा खटाए पनि फेला पार्न नसकिएको बताए ।
‘हामी सर्वसाधारणलाई उनी कतै भेटिए जानकारी दिन आग्रह गर्छाैं,’ कोलम्बोमा पत्रकारसँग कुरा गर्दै मनतुंगाले भने । आइजिपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पुर्याउने जोकोहीलाई कारबाही गरिने उनले चेतावनी दिए । मनतुंगाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्विकार्दै कानुनको जानकार व्यक्तिका रूपमा आइजिपीले अदालतको आदेश पालना गरेर आत्मसमर्पण गर्नुपर्ने बताए ।
सन् २०२३ मा टेन्नाकुनले एक होटेलमा गैरकानुनी रूपमा छापा मारेको आरोप लागेपछि गत साता एक म्याजिस्ट्रेटले उनलाई पक्रन आदेश दिएका थिए । टेन्नाकुनले एक प्रहरी युनिटलाई राजधानी कोलम्बोबाट करिब १५० किलोमिटर टाढा रहेको दक्षिणी तटीय रिसोर्ट सहर बेलिगामास्थित एक होटेलमा अवैध लागुपदार्थको खोजी गर्न आदेश दिएका छन् । अन्डरकभर अप्रेसनबारे अनभिज्ञ स्थानीय प्रहरीले उक्त एकाइसँग मुठभेड गरेपछि गोली हानाहान भएको थियो, जसमा एक अधिकारीको मृत्यु भएको थियो ।