‘लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ’

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक संघको छैटाैँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै उनले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए मात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गरे। उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्न सक्ने बताए ।

 सभापति देउवाले भने, ‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भए मात्रै नेपाल समृद्ध मुलुक बन्न सक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’ उनले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रबारे सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु। गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।’ 
    

सुझावित समाचार