खाँदबारीमा नेवारी समुदायद्वारा नेवारी परिकार प्रदर्शनी

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीमा नेवारी परिकार प्रदर्शनी गरिएको छ। खाँदबारी– १ स्थित पोखरीबजारमा नेवाः मिसाः दबू १ नम्बर वडा समितिको आयोजनामा दुईदिने नेवारी परिकार प्रदर्शनी गरिएको हो ।

नेवार जातिको संस्कार, संस्कृति र नेवारी खाना संरक्षणका लागि नेवारी परिकार प्रदर्शनी गरिएको नेवाः मिसाः दबू खाँदबारी नगरपालिका– १ की अध्यक्ष सरिता श्रेष्ठ उदासले बताइन् । उनले नेवारी परिकारहरू अन्य जातिहरूलाई चखाउने र देखाउने उद्देश्यले प्रदर्शनी गरिएको बताइन्। अघिल्लो वर्ष पनि नेवारी परिकार प्रदर्शनी गरिएको बताउँदै आममानिसहरूले रुचाउने गरेको पाइएकाले यस वर्ष पनि निरन्तरता दिइएको अध्यक्ष उदासको भनाइ छ। 

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रेमचन्द्र राईले यस्ता परम्परागत परिकारहरूको प्रदर्शनीले पछिल्लो पुस्तालाई लोप हुनबाट बचाउने बताउँदै नेवारी परिकारबारे बजारीकरणमा ध्यान दिनुपर्ने बताए। उनले जातीय संस्कारका खाना परिकारहरुको संरक्षण गर्ने काम महत्त्वपूर्ण रहेको बताए। 

उक्त प्रदर्शनीमा नेवारी परिकार प्रदर्शनीहरू विशेषगरी बारा, छोयला, योमरी, ऐला, चटामरी, नेवारी खाजा सेटलगायतका परिकारको स्वाद चाख्न पाइन्छ। जातीय मौलिक संस्कृतिको संरक्षण प्रवर्द्धन गर्नका लागि नेवारी परिकार प्रदर्शनी कार्यक्रमको आयोजना नेवाः मिसाः दबूको भनाइ छ।

नेवारी संस्कृतिको प्रवर्द्धन र आन्तरिक पर्यटनलाई मध्यनजर गर्दै नेवाः मिसाः दबूले नेवारी परिकारको आयोजना गरेको हो। नेवारी संस्कार, संस्कृति लोप हुन लागेकाले नेवारी खाना परिकारको संरक्षण तथा प्रचारप्रसारका लागि मंगलबारदेखि सुरु भएको नेवारी परिकार प्रदर्शनी बुधबार समापन भएको छ।

संखुवासभामा सदरमुकाम खाँदबारी, चैनपुर, मानेभञ्ज्याङ, सिभुवा र स्याबुनलगायतको ठाउँहरूमा नेवार जातिहरूको बाहुल्य रहेको छ। 

सुझावित समाचार