उर्दुको अपमान भारतीय संविधानकै अपमान

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

उर्दुको उपहास गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ भारतको संविधान र भाषिक विविधताविरुद्ध उभिएका छन् 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यसभामा उर्दु भाषाविरुद्ध द्वेषी टिप्पणी गरेका छन् । उनले उर्दु शिक्षा समर्थन गर्ने नेताले बालबालिकालाई मौलवी बनाउन र ‘कठमुल्ला’ कट्टरपन्थ फैलाउन खोजेको आरोप लगाए । यो टिप्पणी समाजवादी पार्टीका नेता माताप्रसाद पाण्डेले सभाको बहसको उर्दु अनुवादको माग गरेपछि आएको थियो । पाण्डेले सभामुख सतीश महानाले बहस चार क्षेत्रीय भाषा अवधी, भोजपुरी, ब्रज, बुन्देली र अंग्रेजीमा उपलब्ध गराउने घोषणा गरेका थिए । इस्लामद्वेषी टिप्पणीका लागि चिनिएका आदित्यनाथले उर्दुलाई इस्लामसँग जोडेर प्रस्तुत गरे, जबकि यो भाषाको दायरा धार्मिक र क्षेत्रीय सीमाभन्दा पर छ र आदित्यनाथले यो ऐतिहासिक वास्तविकतालाई उपेक्षा गरेका छन् ।

उर्दुले भारतको भाषिक विविधतालाई समृद्ध बनाएको छ । यो भाषा दरबारबाट सुरु भएर सैनिक शिविर हुँदै जनसाधारणको भाषा बनेको छ । सन् १९९९ मा अखिल भारतीय उर्दु सम्पादक सम्मेलनको उद्घाटन गर्दै तत्कालीन राष्ट्रपति केआर नारायणनले उर्दु भारतीय भाषा भएको र यो देशभरिका सबै धर्मका मानिसले प्रयोग गर्ने गरेको बताएका थिए । उनले सन्त तुकारामले दखनी उर्दुमा भक्तिगीत लेखेको, प्रेमचन्दले आफ्नो प्रारम्भिक लेखनमा उर्दु भाषा प्रयोग गरेको र लाला लाजपत रायले उर्दु बोल्ने र आफ्नो पत्रिका ‘वन्दे मातरम्’ उर्दुमा प्रकाशित गर्ने गरेको उल्लेख गरेका थिए । आदित्यनाथको तर्कलाई मान्ने हो भने यी महान् व्यक्तिलाई उर्दु प्रयोग गरेबापत कट्टरपन्थी भनिनुपर्ने हो ।

उर्दुले हाम्रो देशको सांस्कृतिक र सभ्यतागत भावनामा आधारित एक समग्र भारतीय पहिचान बोकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री आदित्यनाथ कसरी यसलाई विकृत रूपमा प्रस्तुत गर्छन् र यसलाई कट्टरता एवं संकीर्णतासित जोडेर झुटो सम्बन्ध स्थापित गर्न सक्छन् ? उर्दुले भारतको तेस्रो ठुलो भाषाका रूपमा सम्मानजनक स्थान प्राप्त गरेको छ । यस भाषालाई साहित्य अकादमी पुरस्कारमा मान्यता दिइएको छ । यो जम्मु–कस्मिरको आधिकारिक भाषा हो र त्यसैगरी तेलंगाना, झारखण्ड, बिहार र दिल्लीजस्ता कैयौँ राज्यको दोस्रो आधिकारिक भाषा पनि हो । सबैभन्दा महŒवपूर्ण कुरा उर्दुलाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गरिएको छ ।

तसर्थ, आदित्यनाथले उर्दुप्रति व्यक्त गरेको घोर अवज्ञाले संविधान र उर्दुलाई सञ्चार एवं विचार प्रसारको माध्यमका रूपमा प्रयोग गर्ने विशाल जनसमुदायप्रति अपमान जनाउँछ । भारतका सबै भाषाको महŒवलाई पहिचान गर्ने महात्मा गान्धीले उर्दुलाई राष्ट्रिय महŒव प्रदान गरेका थिए र हिन्दी एवं उर्दुको मिश्रण अर्थात् हिन्दुस्तानी भाषा हाम्रो देशको सम्पर्क भाषा हुनेसम्मको धारणा व्यक्त गरेका थिए । सन् १९१८ मा इन्दौरमा आयोजित साहित्य सम्मेलनमा सहभागी हुँदै उनले उर्दुविनाको हिन्दी अपूरो छ भनेका थिए । भारतले स्वतन्त्रता प्राप्त गरेपछि ‘मेरो दृष्टिमा जो उर्दुको विरोध गर्छ, ऊ भारतीय हुन सक्दैन’ भनेका थिए । यो मापदण्ड लागू गरियो भने आदित्यनाथका अपमानजनक टिप्पणीले उनकै कदलाई नै सानो बनाउँछ ।

राष्ट्रपति केआर नारायणनले उल्लिखित सन् १९९९ को उर्दु पत्रकारितासम्बन्धी भाषणमा छापा पत्रिका प्रकाशित हुनुभन्दा पहिले नै उर्दु जनसञ्चारको माध्यम थियो भनेका थिए । उनले केवल दिल्लीबाटै एक सय २० हस्तलिखित उर्दु पाण्डुलिपि पठाइन्थे, जसमा राष्ट्रिय भावना झल्कने लेख हुन्थे र बेलायती उपनिवेशवादी सत्ताको विरोध गरिन्थ्यो । सहरका प्रमुख चोकमा ती पाण्डुलिपि पाठकले ठुलो भिडलाई सुनाउने उद्देश्यले चर्को स्वरमा वाचन गर्थे र यसलाई मानिसले ध्यानपूर्वक सुन्थे । ती हस्तलिखित दस्ताबेजको सामग्रीले जनतालाई यति उत्तेजित गरायो कि लर्ड कल्यान्ड र लर्ड क्यानिङले आफ्नो आधिकारिक टिपोटमा १८५७ को महान् विद्रोहलाई बेलायती शासनविरुद्ध असन्तोष फैलाउनमा ती उर्दु दस्ताबेजलाई नै कारण मानेका थिए । नारायणनले ‘सन् १९०७ मा महान् विद्रोहको स्वर्ण जयन्ती वर्षमा उर्दु पत्रकारको एक समूहले भारत माता सभा नामक समाज गठन गरेका थिए, जसको उद्देश्य सन् १८५७ मा अधुरो रहेको कार्यलाई पूरा गर्नु थियो’ पनि भनेका थिए ।

मौलाना हसरत मोहानीको पत्रिका ‘उर्दु–ए–मुअल्ला’ ले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्षको सम्बोधन प्रकाशित गथ्र्यो । भारतीय राष्ट्रिय कंग्रेसभन्दा पहिले नै उनले हाम्रो देशको पूर्ण स्वतन्त्रताको माग गरेका थिए । आदित्यनाथले सम्झिनुपर्छ कि नेताजी सुभाष बोसले आफ्नो भारतीय राष्ट्रिय सेनामा उर्दु शब्दलाई प्राथमिकता दिएका थिए, जसले सशस्त्र संघर्षमार्फत भारतलाई बेलायती शासनबाट मुक्त गर्ने लक्ष्य राखेको थियो । सुप्रिम कमान्डरलाई जनाउने ‘सिपाह सालार’ भन्ने उर्दु पदवीलाई उनी र आजाद हिन्द फौजले स्वतन्त्र रूपमा प्रयोग गरेका थिए । नेताजीको आजाद हिन्द फौजको नारामा ‘इत्तेहाद, एतमाद र कुर्बानी’ (एकता, विश्वास र बलिदान) गरी तीनवटा उर्दु शब्द थिए ।

उर्दुले भारतका संस्कृति र भाषागत विविधताको सम्मिश्रणलाई प्रतिनिधित्व गर्छ । यसले हाम्रो समावेशी संस्कृतिलाई पुष्टि गर्छ, त्यसैले यो केवल सञ्चारको माध्यम मात्र नभई साम्प्रदायिक सद्भाव, राष्ट्रिय एकता र सामाजिक मैत्रीको प्रतीक पनि हो । उर्दुको उपहास गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ भारतको संविधान र हाम्रो भाषिक विविधताविरुद्ध उभिएका छन् । उर्दुको संरक्षण गरेर भारतीयले आदित्यनाथले प्रतिनिधित्व गर्ने बहुसंख्यकवाद र इस्लामद्वेषलाई परास्त गर्न सक्छन् ।

(साहुले भारतका पूर्वराष्ट्रपति केआर नारायणनका प्रेस सचिवका रूपमा काम गरेका थिए) 
द वायरबाट 

 

सुझावित समाचार