अब भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) अन गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ । भिपिएनले स्मार्टफोन वा कम्प्युटर चलाइरहेको प्रयोगकर्तालाई सुरक्षित माध्यमबाट इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, जसमा प्रयोगकर्ताको परिचय गोप्य रहन्छ ।
यद्यपि, यसलाई सरकारले लगाएको सेन्सरसिप वा प्रतिबन्ध छल्न प्रयोग भइरहेको छ । भिपिएनको प्रयोगबाट मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ चलाउन नसकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भिपिएनको प्रयोग गरे–नगरेको पहिचान गरी आधिकारिक भिपिएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
भुक्तानी सेवाप्रदायकले कम्तीमा दुई वर्षमा एकपटक डेटा सेन्टरमा हुन सक्ने जोखिम र त्यसको सुधारको परीक्षण डेटा सेन्टर डिजास्टर ड्रिल गर्नुपर्ने भएको छ । यस्तो परीक्षण सम्पन्न भइसकेपछि केन्द्रीय बैंकमा यसको प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ । त्यस्तै, भुक्तानी सेवाप्रदायक संस्थाहरूले सूचना प्रविधि विभागबाट सूचीकृत भएका संस्थासँग मात्रै डेटा सेन्टर राख्न पाउने भएका छन् ।
भुक्तानी सेवाप्रदायकलाई इन्टरनेटविनाको (युएसएसडी बेस्ड पेमेन्ट सिस्टम) सेवाबापत कारोबार गर्न पाउने दैनिक सीमा अधिकतम १० हजार तोकिएको छ । यद्यपि एकपटकमा पाँच हजारभन्दा बढी कारोबार नहुने उल्लेख छ ।