नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन्।
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा संघका ३२ जना अध्यक्षहरूको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्षलगायतका विषय समावेश छन्।
पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताए। उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि गरेको जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसरहरू सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे। ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले अधिकतम कदम चाल्नुपर्दछ,’ कार्यक्रममा राष्ट्रपति पौडेलले भने। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको बताए ।
दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन्। पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए। ‘यसले नेपालको चिकित्सा क्षेत्रको विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्नेछ।यसका साथै नयाँ पुस्ताका चिकित्सकहरूलाई पनि अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी हुनेछ,’ ढकालले भने। उनले अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकहरूको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने पनि बताए।
२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेसागत संघ हो। वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरूकाे बैठकले संघको स्थापना गर्ने निर्णय गरेकाे थियाे। संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन्।