थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

पाइप फुटेको थप कारणबारे अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुन सक्ने उनले बताए । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहाेर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामा झैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ । रासस

सुझावित समाचार