जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठुलो डढेलो नियन्त्रणका लागि करिब एक हजार सात सय अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गत वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो।
ओफुनाटो सहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार एक सय हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपत् व्यवस्थापन निकायले सोमबार जनाएको छ। जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकाेप्टरले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगोले आइतबारसम्म ८४ वटा भवनमा क्षति पुर्याएको अनुमान गरिएको छ, तर विस्तृत विवरण आउन बाँकी रहेको विपत् व्यवस्थापन निकायले जनाएको छ। अधिकारीहरूका अनुसार करिब तीन हजार दुई सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।
राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रंगको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ। जापानमा सन् १९७० को दशकमा डढेलोको चरम विन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ।
तर, सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार तीन सय हेक्टरको हाराहारीमा जंगलमा डढेलो फैलिएको थियो। ओफुनाटोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो।