बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले आफ्नो देश सदैव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको साथमा रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको कार्यालय ओभल हाउसमा शुक्रबार भएको नोकझोँकपछि बेलायत पुगेका जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा आयोजित एक सौहार्दपूर्ण भेटमा प्रधानमन्त्री स्टार्मरले उनीप्रति बेलायतको सधैँ साथ रहेको बताएका हुन् । सो अवसरमा जेलेन्सकीले बेलायतजस्तो मित्र आफूसँग रहेकोमा खुसी व्यक्त गरे । साथै, युद्धमा साथ दिएकोमा बेलायतलाई धन्यवादसमेत दिए ।
शनिबार जेलेन्स्की लन्डनमा पुग्दा समर्थकहरूको भिडले जयजयकार गरेको थियो । ‘तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ,’ स्टामरले भने । त्यसपछि दुई नेताबिच एक घण्टाभन्दा बढी समय वार्ता भएको थियो । लन्डनमा रहँदा जेलेन्स्कीले रणनीतिक साझेदार पाउँदा आफू खुसी भएको बताए । ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्ससँग चर्काचकी भएको भोलिपल्ट जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा भव्य स्वागत गरिएको थियो ।
भेटका अवसरमा स्टार्मर र जेलेन्स्कीबिच युक्रेनी सैन्य सामग्रीका लागि २.२६ बिलियन पाउन्ड स्टर्लिङको ऋणमा हस्ताक्षरसमेत भएको छ । रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट उक्त रकमको भुक्तानी गरिनेछ । ‘यो रकम युक्रेनमा हतियार उत्पादनमा प्रयोग गरिनेछ,’ जेलेन्स्कीले भने, ‘यो साँचो न्याय हो । हामी सदैव सत्यको पक्षमा छौँ । जसले युद्ध सुरु ग¥यो उसले यसको ठुलो मूल्य चुकाउनुपर्छ ।’
जेलेन्स्कीले बेलायती सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै रुसी हमलाको प्रतिकार गर्न रक्षा क्षमता बढाउन आग्रह गरे । ‘म युद्धको सुरुदेखि नै निरन्तर समर्थनका लागि बेलायती जनता र सरकारलाई धन्यवाद दिन्छु,’ जेलेन्स्कीले भने, ‘हामी यस्ता रणनीतिक साझेदार पाएर सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ ।’ उक्त बैठकपछि प्रधानमन्त्री स्टार्मरले ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोंसँग छलफल गरेका बिबिसीले जनाएको छ । सो अवसरमा उनले युक्रेन र समग्र युरोपको रक्षाका लागि निस्वार्थ रूपमा जुट्नुपर्ने बताए । ‘अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न हामी एकजुट हुने समय हो,’ स्टार्मरले भने । माक्रोंले युक्रेनबाट पछि हट्नु आफ्नो स्वार्थअनुकूल नहुने कुरालाई अमेरिकाले मनन गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैबिच, बेलायत र फ्रान्सले युद्धग्रस्त युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने भएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री स्टार्मर अमेरिका र युरोपबिच सेतुको रूपमा उभिन खोजेका छन् । ट्रम्प प्रशासनले युरोपको सुरक्षाप्रति कम चासो देखाइरहेका वेला स्टार्मरले जेलेन्स्कीभन्दा एक दिनअघि ट्रम्पसँग पनि वार्ता गरेका थिए । वार्तामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिइनुपर्ने उनले बताएका थिए । युक्रेन युद्ध रोक्ने विषयमा बेलायत र फ्रान्सले शान्ति योजना तयार गर्ने र त्यसबारे ट्रम्पसँग पुनः छलफल गर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।
टम्प र जेलेन्स्कीको आश्चर्यजनक चर्काचर्कीपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदै छन् । ट्रम्पले किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताबिच युक्रेनका सहयोगीहरूले आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन् ।यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली संघ (इयू)लगायत युरोपका नेताहरूलाई एकसाथ ल्याउँदै छ ।
डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदम चाल्नेबारे छलफल गर्ने बताएको छ । अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्छ वा गर्दैन भन्ने चिन्तामाझ हुन लागेको भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ । सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि आइतबार जेलेन्स्कीले राजा चाल्र्स तृतीयलाई भेट गरेका थिए ।