लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता ५–१५ वैशाखसम्म हुने भएको छ । यसअघि प्रतियोतिगा १९–२९ फागुनमा हुने भनिएको थियो । तर, प्राविधिक कारणले अन्तर्राष्ट्रिय महिला फुटबल सार्न परेको आयोजक कार्यकारी प्रमुख जयनारायण शाहले बताए । महिला खेलाडी काठमाडौंमा भएको फोर नेसन्स कपमा सक्रिय हुँदा प्रतियोगिता सार्नुपरेको उनले बताए । ‘दुईवटा फुटबल प्रतियोगिता जुध्ने भएपछि मिति सार्न परेको हो,’ शाहले भने ।
१७ फागुनदेखि कोहपुरमा कोहलपुर गोल्डकप र नेपालगन्जमा १९ फागुनदेखि राष्ट्रियस्तरकै फुटबल प्रतियोगिता आयोजनाको मिति जुधेका कारण मिति परिवर्तन भएको शाहले बताए । प्रतियोगितामा भारतका दुईसहित आठ टोलीले सहभागिता जनाउनेछन् । ‘लुम्बिनी प्रदेशबाट खेल्ने टोलीको छनोट, प्रशिक्षण र खेलमैदानको व्यवस्थापन गर्न समय पाएको छ,’ शाहले भने ।
बाँके जिल्ला फुटबल संघले लुम्बिनी प्रदेशको टोली छनोट र प्रशिक्षण गरिरहेको छ । नेपालगन्ज रंगशालामा आयोजना हुने प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ क्लबले भाग लिनेछन् । ‘प्रतियोगितामा धेरै क्लबले चासो दिएका थिए, तर ‘ए’ डिभिजनका क्लबलाई मात्र सहभागी गराउने योजना थियो,’ उनले भने ।
प्रतियोगिता आयोजनाको बजेट एक करोड ३५ लाख रहेको छ । शाहले पुरुष फुटबल प्रतियोगिता आयोजना गर्नेभन्दा महिला फुटबल आयोजना गर्न कठिन हुने बताए । ‘महिला फुटबल विश्वमै कम खेलाइन्छ । नेपालमा झन् यो खेलका लागि खेलाडी पाइन मुस्किल पर्छ,’ उनले भने, ‘आर्थिक सहयोग गर्नेहरू पनि खासै चासो दिँदैनन् ।’