जन्ममिति ‘किर्ते’ गरेका बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई विशेष अदालतबाट सफाइ

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

पदावधि लम्ब्याएको अभियोगमा तीन महिनाअघि मुद्दा चलाइएका नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिने फैसला गरेको हो । विशेषले सफाइ दिँदा सिइआइबी र अख्तियारले भने उनीमाथि जन्ममिति किर्ते र गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान गरिरहेका छन् ।

सिआइबीले जन्ममिति किर्ते मुद्दामा पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ । त्यस्तै, अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । सिलवालको विभिन्न कागजातमा तीनथरी जन्ममिति रहेको घटनामा अख्तियारले ‘नपाएको ओहोदा पाएँ’ भनी भ्रष्टाचार गरेको अभियोगमा २४ मंसिरमा मुद्दा दर्ता गराएको थियो । अख्तियारको अनुसन्धानअनुसार उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिँदा २४ फागुन ०३२ मा १६ वर्षको रहेको उल्लेख छ । पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिँदा भने जन्ममिति ०१६ को २२ कात्तिकको छ । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रन्सक्रिप्टमा उनको जन्ममिति १५ साउन ०१५ छ । 

निजामती सेवामा आएपछि सिलवालले १५ साउन ०१५ जन्ममितिअनुसार नियुक्ति र निवृत्तिभरण प्राप्त गरेका थिए । यद्यपि, पदमै बहाल रहेका बखत उनले लिएको कूटनीतिक र विशेष राहदानीका लागि भने २४ कात्तिक ०१८ जन्ममिति उल्लेख गरेका थिए । यसरी झन्डै तीन वर्ष उमेर घटाएर झुटा विवरण पेस गरी राहदानी प्रयोग गरेको अभियोग उनीमाथि थियो । अख्तियारले ३६ लाख ६२ हजार रुपैयाँभन्दा बढी बिगो र कैद सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरेकोमा विशेषले सफाइ दिएको हो । फैसलाको पूर्णपाठ सार्वजनिक भएको छैन । फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीले असन्तुष्टि जनाएका छन् । 

निजामती सेवाको नियुक्ति लिँदा पेस गरेको जन्ममितिको आधारमा निजामती किताबखानाबाट सिलवालले निवृत्तिभरण अधिकारपत्र प्राप्त गरेका थिए । ५८ वर्षे सेवा अवधिका आधारमा उनले १५ साउन ०७३ मा अनिवार्य अवकाश प्राप्त गरेका थिए । तर, सिलवालले निजामती सेवामा नियुक्ति हुँदा एक जन्ममिति राखेर सेवामै रहँदाको अवस्थामा राहदानी बनाउँदा फरक जन्ममिति उल्लेख गरेका थिए । निजामती सेवामा बहाल रहेको अवस्थामा सिलवालले कूटनीतिक राहदानी र विशेष राहदानी पाउन भरेको ‘पासपोर्ट एप्लिकेसन फर्म’मा उमेरको झुटा विवरण अर्थात् २४ कात्तिक ०१८ कायम गरेको अभियोग थियो । 

‘निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममितिभन्दा करिब तीन वर्ष उमेर घटाएर राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुटा विवरण पेस गरी, प्राप्त गरी÷गराई राष्ट्रसेवकका रूपमा उक्त राहदानी प्रयोगमा ल्याई लाभ, सुविधा प्राप्त गरेको देखियो,’ अख्तियारको आरोपपत्रमा उल्लेख थियो । पूर्वगृहसचिवसमेत रहेका सिलवाल मुद्दा दायर हुँदा प्राधिकरणको अध्यक्ष पदमै थिए । उनको चार वर्षको पदावधि गत १९ माघमै समाप्त भइसकेको छ । अवकाशअघि सिलवाल केही व्यापारिक घरानालाई लाइसेन्स बाँड्ने तयारीमा थिए । हाल सरकारले शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ । 

जन्ममिति किर्तेमा सिआइबीको पक्राउ पुर्जी, अख्तियारले अकुत सम्पत्तिमा गर्दै छ छानबिन 
जन्ममिति किर्ते गरेको अभियोगमा सिलवालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार सिआइबीले किर्ते मुद्दामा उनलाई पक्राउ गर्न अदालतबाट समेत अनुमति लिइसकेको छ । उनीमाथि किर्ते मुद्दामा अनुसन्धान गर्न अख्तियारले गत मंसिरमै सिआइबीलाई पत्राचार गरेको थियो । ‘अख्तियारकै पत्रका आधारमा अनुसन्धान थालेका हौँ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘उनी हाम्रो फरार सूचीमा छन् ।’ 
स्रोतका अनुसार अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पनि उनीमाथि अनुसन्धान गरिरहेको छ । उनको सबै सम्पत्तिको विवरण निकालेर बयानमा बोलाउने तयारी गरेको छ । निजामती सेवामा रहँदा तथा पछि बिमा प्राधिकरणको अध्यक्ष हुँदा उनले अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेका छन् ।
 यस्ता थिए अभियोग 

  • पर्सा र काठमाडौंबाट जारी नागरिकता र कर्मचारी सिटरोलमा अलग–अलग जन्ममिति
  • अधिकृतमा नियुक्ति लिँदा एउटा र सेवामै रहँदा बनाएको राहदानीमा अर्कै जन्ममिति उल्लेख
  • कार्यकाल बढाउन कम उमेर भएको जन्ममिति पेस 
  • उमेरहदले १४ महिनाअघि नै बाहिरिनुपर्नेमा पदमा बहाल हुन जन्ममिति किर्ते 

 जन्ममिति किर्तेमा सिआइबीको पक्राउ पुर्जी, अख्तियारले अकुत सम्पत्तिमा गर्दै छ छानबिन 
जन्ममिति किर्ते गरेको अभियोगमा सिलवालमाथि सिआइबीले पनि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार सिआइबीले उनलाई पक्राउ गर्न अदालतबाट समेत अनुमति लिइसकेको छ । उनीमाथि किर्ते मुद्दामा अनुसन्धान गर्न अख्तियारले गत मंसिरमै सिआइबीलाई पत्राचार गरेको थियो । ‘अख्तियारकै पत्रका आधारमा अनुसन्धान थालेका हौँ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘उनी हाम्रो फरार सूचीमा छन् ।’ स्रोतका अनुसार अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पनि उनीमाथि अनुसन्धान गरिरहेको छ । उनको सबै सम्पत्तिको विवरण निकालेर बयानमा बोलाउने तयारी गरेको छ । 

सुझावित समाचार